लम्बिएको लकडाउनले स्थानीय सरकार घोडा खच्चड मार्फत खाद्यान्न ढुवानी गर्दै !
रुकुम पुर्व । लम्बिदै गएको लकडाउनको कारण गाउँमा खाद्यान्न अभाव हुन थालेपछि रुकुम पुर्वको एक गाउँपालिकाले घोडाखच्चड मार्फत खाद्यान्न ढुवानी गरेको छ ।
कोरोना महामारीका कारण सरकारले गरेको बन्दाबन्दी लम्बिदै गएपछि जिल्लाको पुथाउत्तरगंगा गाउँपालिकाले सबै वडाहरुमा सहुलियत दरमा चामल र नुन ढुवानी गरेको हो । गाउँपालिकाले विभिन्न ठाउँमा देखिएको खाद्यान्न अभावलाई पूर्ती गर्न सहुलियत दरमा गाउँगाउँमा चामल र नुन पठाएको हो ।
जिल्लाकै दुर्गम क्षेत्र मानिने पुथाउत्तरगंगामा सडक पुगेका केहि ठाउँमा गाडिमा र अन्य ठाउँमा घोडा खच्चडमार्फत सामान ढुवानी गरेको गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाहीले बताईन ।
१४ वटा वडा रहेको पुथाउत्तरगंगा गाउँपालिकाको वडा नम्बर १०, ११, १२, १३, र १४ मा मात्र सडक सुविधा पुगेको छ । अन्य वडाहरुमा भने घोडा खच्चडबाट चामल र नुन ढुवानी गरेको शाहिले जनाईन । जिल्लाको सबैभन्दा ठुलो गाउँपालिका पुथाउत्तरगंगामा गाउँपालिकाको केन्द्रबाट कुनै वडामा पुग्न ३ दिन लाग्ने गर्दछ । घोडा खच्चडमार्फत वडा नम्बर २ को पेल्मामा तिन दिन लगाएर चामल र नुन पुर्याएको गाउँपालिकाले जनाएको छ ।
दाङबाट ल्याएको ३ सय ४० क्विन्टल चामल र साल्ट ट्रेनिङ कर्पोरेशन रुकुमकोट वितरण केन्द्रले पठाएको २ सय क्विन्टल आयोडिनयुक्त नुन गाउँपालिका आफैंले ढुवानी गरेर सबै वडामा पुर्याएको हो । बन्दाबन्दिको समयमा विभिन्न ठाउँमा खाद्यान्नमा मुल्य वृद्धि भएको समाचारहरु आइरहदा गाउँपालिकाले भने निशुल्क ढुवानीमा गाउँगाउँमा चामल र नुन पठाएको हो ।
गाउँपालिकाले लगभग दुई साता लगाएर सबै वडामा चामल र नुुन पठाइएको छ । गाउँगाउँमा पुर्याइएको चामल प्रतिक्विन्टल ४ हजार ८ सय १२ रुपैयाँ र प्रतिपोका नुनलाई १० रुपैयाँमा बिक्रि वितरण भइरहेको छ ।
गाउँपालिकाले निशुल्क ढुवानीसहित गाउँगाउँमा सहुलियत दरमा चामल र नुन पुर्याएपछि नागरिकहरु खुसी भएका छन् । बन्दाबन्दिको समयमा खाद्यान्न उपलब्धताको असहजतालाई झेलिरहेका नागरिकले गाउँमै सहुलियत दरमा चामल र नुन पाएपछि सहज भएको वडा नम्बर २ पेल्माका बिरभान बुढाले बताए ।
यसैगरी सिस्ने गाउँपालिकाको वडा नम्बर १ प्वाङ र वडा नम्बर २ को सिस्नेमा पनि घोडा खच्चडमार्फत नै खाद्यान्न ढुवानी हुने गरेको छ । ती वडाहरुले घोडा खच्चडमार्फत खाद्यान्न ढुवानी गरेर विपन्न परिवारलाई राहत पनि वितरण गरिसकेका छन् ।
बन्दाबन्दिको समयमा वडामा खाद्यान्न अभाव हुन नदिन घोडा खच्चडमार्फत सामान ढुवानी गरिरहेको वडा नम्बर २ का वडा अध्यक्ष जीवन केसीले बताए। वडा नम्बर २ को केहि भागमा सडक पुगेपनि गाडि भने चल्न सकेका छैनन् । वडा नम्बर १ मा भने अझै सडकको सुविधा पुगेको छैन् ।
टिप्पणीहरू