काठमाडौंमा जताततै बम, निस्क्रिय बनाउन सुरक्षाकर्मी तल्लिन

काठमाडौंमा जताततै बम, निस्क्रिय बनाउन सुरक्षाकर्मी तल्लिन

हिजोदेखि राजधानीका विभिन्न स्थानमा शंकास्पद बस्तु फेला परेको छ । आज बिहान साढे २ बजे हाँडीगाउँबाट चावहिल जाने सडकमा रहेको भत्केको पुल नजिकै प्रेसर कुकर बम फेला परेको बताइएको छ । ट्याक्सीले शंकास्पद प्रेसर कुकरबारे खबर गरेपछि प्रहरी र सेनाको टोली त्यहाँ पुगेको हो । 

त्यसपछि प्रहरी नायव उपरीक्षक अनिश कुमारको कमाण्डमा नौ जना र सिंहदरबारस्थित चण्डिदल गणबाट सेनानी ऋषिकेश न्यौपानेको कमाण्डमा आठ जनाको बम डिष्पोजल टोली बिहान साढे ३ बजे त्यहाँ पुगेको थियो । साढे ५ बजे शंकास्पद वस्तु निस्क्रिय पारिएको र कुकरमा बालुवा र सलाई भरेर राखिएको देखिएको हो । 

उता बूढानीलकण्ठ नगरपालिकाको वडा नम्बर ७ र ८ को बीचमा रहेको स्पेसल चोकमा पनि शंकास्पद वस्तु फेला परेको छ । नेपाली सेनाको भवानीदल गण, लिपिकोटबाट सेनानी सरोज खड्काको कमाण्डमा गएको सात जनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको हो । बूढानीलकण्ठमा पनि बिहान ३ बजेको समयमा शंकास्पद कुकर फेला परेको बताइन्छ ।

जावलाखेलको स्टिल टावर नजिकैको पार्कमा रहेको सिमेन्टेड बेन्चको पछाडि पनि शंकास्पद प्रेसर कुकर फेला परेको छ । रातो टेप लगाएको प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु  फेला परेको प्रहरीले बताएको छ ।

उक्त स्थान मुख्य निर्वाचन अधिकृतको कार्यालय, ललितपुरको नजिकै पर्ने जनाइएको छ ।

यसअघि हिजै राजधानी नजिकैको तारकेश्वर नगरपालिकाको साङ्ला छापमा मलको बोरा अगाडि सकेट बम फेला परेको थियो । उक्त बमलाई सेनाको टोलीले राति ८ बजे निस्क्रिय पारेको हो ।

टिप्पणीहरू