मतदान नहुँदै मत गणनास्थललाई तारजालीले घेरियो

मतदान नहुँदै मत गणनास्थललाई तारजालीले घेरियो

भोलि प्रतिनिधि सभा र प्रदेश सभाको निम्ति मतदान हुँदैछ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ । साँझ सम्बन्धित निर्वाचन क्षेत्र र जिल्लाका मतपेटिका प्राप्त भएपछि मतगणना थालिने बताइएको छ ।

तर, विकट हिमाली र पहाडी क्षेत्रका मतपेटिकालाई मत गणनास्थलसम्म ल्याइपुर्याउन कम्तीमा २४ घण्टा लाग्ने स्थान पनि छन् । सहरी र सुगम क्षेत्रमा भोलि साँझदेखि नै मतगणना थालिने निर्वाचन आयोगले जनाएको छ । 

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा मतगणनास्थलमा प्रतिनिधिले मतपत्र च्यात्ने, टोक्नेलगायत कार्य भएकाले मतगणनास्थलमा तार जालीले घेर्न थालिएको हो । सम्बन्धित कर्मचारीलाई तारजालीभित्र र उम्मेदवारका प्रतिनिधिलाई जाली बाहिर राखेर गणना गर्ने क्रममा यस पटक पनि सोही प्रक्रिया अवलम्बन गर्न लागिएको छ ।

कास्कीमा सबै क्षेत्रको मतगणनास्थल तयारी अवस्थामा राखिएको छ । मतदानपछि कास्कीको मतगणना तीन ठाउँमा हुने बताइएको छ । क्षेत्र नम्बर १ को माटेपानीस्थित भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र, क्षेत्र २ को पोखरा सभागृह हल र क्षेत्र ३ को जिल्ला समन्वय समिति (जिसस) हलमा मतगणना हुँदैछ ।

त्यहाँका सबै क्षेत्रको मतगणनास्थलमा तारजालीले घेरेर मतगणना गरिने जानकारी दिइएको छ ।

उता लमजुङमा पनि निर्वाचन प्रचारको समय सकिएसँगै सुरक्षा चुनौतीलाई हेरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतपेटिका राख्ने र मतगणनास्थल तयार पारेको छ । 

जिल्ला समन्वय समितिको सभाहलभित्र तयार पारिएको मतगणनास्थलमा तारजाली र पेटिका राख्ने ठाउँमा सीसीटीभी क्यामरा जडान गरिएको छ ।

मतगणनास्थलमा दलका उम्मेदवार÷प्रतिनिधिलाई बस्ने व्यवस्था तारजालीभन्दा बाहिर बनाइएको छ । मतपेटिका राख्ने ठाउँका लागि चारवटा कोठा व्यवस्थापन गरिएको बताइएको छ ।

मतदानस्थलमा हुने असुरक्षा र हुन सक्ने धाँधलीलगायत गतिविधि नियन्त्रण गर्न तथा नियाल्न सीसी क्यामरा जडान गरिएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए । बेंसीसहर नगरपालिकाको सहयोगमा ४ लाख ५० हजार रुपैयाँका सीसी क्यामरा जडान गरिएको छ ।

टिप्पणीहरू