चिया खाजा खाइरहेका विप्लव कार्यकर्ता गिरफ्तार

चिया खाजा खाइरहेका विप्लव कार्यकर्ता गिरफ्तार

भोलि हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन बिथोल्न खोजेको आरोपमा विप्लव माओवादीका कार्यकर्ताहरु पक्राउ परेका छन् । आमनिर्वाचन बहिष्कारको घोषणा गर्दै आएको उक्त समूहका नेता तथा कार्यकर्ताको गतिविधि शंकास्पद भएको आरोपमा प्रहरीले हिजो कीर्तिपुरबाट तीन जनालाई नियन्त्रणमा लिएको छ । 

उक्त समूहका कीर्तिपुर नगर इञ्चार्ज राजु पुतुवार र अखिल क्रान्तिकारी त्रिवि संयोजक लक्ष्मण पनेरुलाई स्थानीय बाघभैरव मन्दिर अगाडि चिया खाजा खाइरहेको अवस्थामा पक्राउ गरेको महानगरीय प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ । उनीहरुलाई पौने ५ बजे नियन्त्रणमा लिइएको थियो ।

त्यसैगरी अखिल (क्रान्तिकारी) का महासचिव ललितलाई पनि कीर्तिपुरस्थित उनकै कोठाबाट हिजो राति साढे ८ बजे पक्रेको हो ।

यसैबीच पार्टी महासचिव विप्लवले भोलि हुने निर्वाचनलाई आफ्नो पार्टीले खारेज गर्ने निर्णय गरेको बताएका छन् । आवधिक निर्वाचनबाट निर्वाचित उम्मेदवारमात्रै धनी हुने र गरिब झन् गरिब हुने निचोड निकाल्दै विप्लवले भनेका छन्, ‘अहिलेको व्यवस्था मुठ्ठीभरका दलाल पुँजीपति वर्ग, नोकरशाह र सामन्ती तत्वहरुको व्यवस्था हो । यो व्यवस्थाबाट जनता र मुलुकको समृद्धि सम्भव छैन ।’

सोही पार्टीका काठमाडौं जिल्ला समिति सक्रेटरी तुलसीनारायणले राजधानीका विभिन्न स्थानमा फेलापरेको शंकास्पद वस्तु आफ्ना नेता तथा कार्यकर्ताले नराखेको बताएका छन् । उनले आफ्नो पार्टीलाई बदनाम गराउन सत्तापक्षले उक्त षडयन्त्र रचेको प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन् ।

टिप्पणीहरू