प्रधानाध्यापक हटाएको विरोधमा विद्यालयमा तालाबन्दी

प्रधानाध्यापक हटाएको विरोधमा विद्यालयमा तालाबन्दी

रुपन्देहीको बेलहिया माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू आन्दोलित भएका छन् । विगत दुई वर्षदेखि प्रधानाध्यापक हुँदाहुँदै हालै सरुवा भई आएका शिक्षकलाई जबर्जस्ती प्रधानाध्यापक बनाइएको विरोधमा अध्ययनरत विद्यार्थी र अभिभावकहरूले विद्यालयमा ताल्चा लगाएका छन् ।

प्रधानाध्यापकको विषयलाई लिए रसिद्धार्थनगर नगरपालिका–१, बेलहियास्थित उक्त विद्यालयमा अध्ययनरत पाँच सय विद्यार्थीको पढाइ प्रभावित हुँदै आएको थियो । २०७७ वैशाख १५ गतेदेखि निमावि तहको राहततर्फका शिक्षक इलियास खान प्रधानाध्यापक थिए । 

विद्यालयका प्रावि तहका शिक्षक सञ्जयकुमार धवल गत भदौ १५ गते सरुवा भएर गएपछि १३ भदौमा आएका प्रावि तहका स्थायी शिक्षक अब्दुल रहमान खानलाई नै प्रअको जिम्मेवारी दिइएको थाहा पाएपछि विद्यार्थीले इलियासको समर्थनमा आन्दोलन गरेका हुन् ।

विद्यालयको विकासमा धेरै योगदान गरेको र शैक्षिक सुधार भएको भन्दै पहिलेका प्रधानाध्यापकलाई नै जिम्मेवारी दिनुपर्ने स्थानीय सवित्री गुरुङले बताइन् । अर्का अभिभावक बासुदेव आचार्यले विद्यालयजस्तो संवेदनशील ठाउँमा भ्रष्टाचार गर्ने जोकोहीलाई निष्कासित गर्नुपर्ने, बालअधिकारको हनन गर्ने र परीक्षाको मुखमा आएर गलत व्यक्तिलाई जिम्मेवारी दिन लागिएको भन्दै यथाशीघ्र निर्णय सच्च्याउनुपर्ने बताए । 

जिम्मेवारी दिइएका नयाँ शिक्षकले अभिभावकहरूलाई आफ्नो बच्चा विद्यालयबाट लैजान आग्रह गरेको भन्दै अनाहकमा विद्यार्थीलाई यातना दिने गरेको फूलमति हरिजनले बताइन् । उनको विगत राम्रो नभएको फूलमतिको भनाइ छ ।

अभिभावक र विद्यार्थीहरुले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र क्षेत्री समेत अनियमिततामा संलग्न भएको आरोप लगाएका छन् । उनले विद्यालयको सम्पत्ति व्यक्तिगत रूपमा प्रयोग गरेको र विद्यालयमा हाँस, कुकुर पालेको बताइन्छ ।

तर अध्यक्ष क्षेत्रीले आफूले भन्दा पनि नगरपालिकाको शिक्षा शाखा र शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीले प्रधानाध्यापकको जिम्मेवारी दिएको बताए । आफूले कुनै अनियमिततता नगरेको दाबी गर्दै दोषी देखिए कारबाही भोग्न तयार रहेको उनको भनाइ छ । सिद्धार्थनगर नगरपलिकाका शिक्षा शाखा प्रमुख चेतनशील लम्साल यस विषयमा सम्पर्कमा आउन चाहेनन् ।

टिप्पणीहरू