बैंक खाताबाट एकैछिनमा पैसा बेपत्ता

बैंक खाताबाट एकैछिनमा पैसा बेपत्ता

बैंकलाई त्यसै ‘टाइ लगाएका गुण्डा भनिएको होइन रहेछ । एउटा व्यक्तिले खाइ नखाइ आर्जेको रकम विश्वासपूर्वक कुनै बैंकमा जम्मा गर्छ तर त्यही पैसा बैंकले ग्राहकको खाताबाट खुसुक्क पैसा निकालेर अर्काको नाममा ‘ट्रान्सफर’ गरिदिन्छ भने त्यस्ता बैंक तथा वित्त कम्पनीलाई कसरी, के आधारमा भरोशा र विश्वास गर्नु ? 

यस्तै ठगीमा परेको पीडित हुँ । २५ वर्षदेखि प्रिन्टिङ व्यवसायमा आबद्ध छु । विराटनगरमा जमाली प्रिन्टिङ प्रेस र १० वर्षदेखि काठमाडौं शंखमूलमा जमाली क्यालेन्टर प्रिन्टिङ टिनकिल्प उद्योग छ । दुःख–सुख जीवनको रेल गुडाइरहेका छौं । विराटनगरकै मारवाडीहरूले बैंक अफ एसिया सञ्चालनमा ल्याए । अहिले उक्त नाम बैंकमा नाम बदलिएर एनआइसी एसिया बनेको छ । आठ वर्षअघि विराटनगरमै बैंक खाता खोलियो । सोही बैंकमार्फत आर्थिक कारोबार गर्दै आइरहेको थिएँ । 

सिंगो देश निर्वाचनमा होमिएको बेला कात्तिक २० मा मेरो ह्वाटसएप नम्बरमा एउटा नयाँ नम्बरबाट म्यासेज आयो । म्यासेज ९८१२७६२७६० बाट आएको थियो । सो म्यासेजमा एउटा पीडिएफ फाइल थियो । नेपाली गर्ल डट एपिके भन्ने लिंक खुल्यो । हाम्रो कामै हो प्रिन्टिङ, डिजाइनसम्बन्धी । पीडिएफ आएको कारण खोलें । केही काम विशेषले कुनै क्लाइन्टले पठाएको म्यासेज होला भन्ने सोचेको थिएँ, गलत परेछ । क्लिक गरेलगत्तै महिलाका नग्न तस्बिरहरू खुले । ती फाइललाई डिलिट गरेँ तर एकै क्षणमा मोबाइलका एप्सहरू सबै आफसे आफ चल्न थाले । मोबाइल ह्याङ भएजस्तो भयो । फ्लाइट मोडमा राखेँ । बाथरुम गएँ, नुहाएर फ्रेस भई फर्किएँ तर मोबाइल ह्याङ भइरह्यो ।

अफ गर्न खोजेँ भएन । त्यत्तिकैमा अफिस गएँ । म्यासेज आयो एनआइसी एसियामा रहेको मेरो एकाउन्टबाट पैसा निकालेको । शुरुमा ५० हजार झिकेको म्यासेज आयो र अर्काे पटक ९७,५१० । एकै क्षणमा १ लाख ४७ हजार ५१० रूपैयाँ निकालियो । मैले कसैलाई चेक काटेर दिएको पनि होइन । तर, १० मीनेटको अन्तरालमा मेरो मोबाइल बैंकिङबाट १ लाख ४७ हजार ५१० रूपैयाँ गायब बनाइयो । तत्कालै एनआइसी बैंक विराटनगर शाखामा गएर पीडा पोखेँ । शाखा प्रमुखलाई भेट्न दिएनन् । बैंकले यति संवेदनशील विषयलाई गम्भीर रूपमा लिएन । 

बैंकबाट केही पार नलाग्ने देखेपछि तत्कालै विराटनगरस्थित जिल्ला प्रहरी कार्यालयमा पुगेर दुःख बेसाएँ । प्रहरी निरीक्षक पप्पु नायकले एनआइसी एसिया बैंक विराटनगर शाखालाई मेरो खाताबाट ई–सेवा, आइएमइ पेबाट वा अन्य कुन–कुन खातामा के–कति रकम निकासा भएको हो, त्यस्तो विवरण पठाउन पत्र पठाए । बैंकले दिएको स्टेटमेन्टअनुसार १ लाख ४७ हजारमध्ये किशोरकुमार मानन्धरको नाममा ५० हजार झिकिएको रहेछ । उसको मोबाइल नम्बर ९७४५८३१५०० थियो । मैले केआइसी मागेँ चन्द्रगढी नगरपालिका १० बस्ने महेश विश्वकर्माले ९७ हजार ५०० रूपैयाँ मेरो खाताबाट प्रभु बैंकमा ट्रान्सफर गरेको भेटियो । यी विवरण बैंकबाट लिएर फेरि प्रहरीकोमा गएँ । तर, प्रहरीबाट मेरो गुमेको रकम फिर्ता पाउँछु भन्ने आशा निराशामा परिणत भयो । जवाफ आयो, ‘अहिले हामी निर्वाचनमा व्यस्त छौं, चुनाव सकिएपछि तपाईंको समस्या समाधान गर्छाैं ।’

प्रहरी प्रशासन र बैंकबाट तत्काल समस्या समाधान नहुने देखेपछि काठमाडौंमा रहनुभएका दाजु अबिद कामिल जमालीलाई पीडा सुनाएँ । दाजु काठमाडौँमै प्रेस चलाएर बस्नुभएको छ । उहाँले तत्कालै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनमा पुगेर निवेदन दिनुभयो । त्यहाँका प्रहरीले पनि विराटनगरका प्रहरीले झैं उस्तै जवाफ फर्काए अहिले हामी निर्वाचनमा व्यस्त छौं । विषय यति गम्भीर छ तर प्रहरीहरू भन्छन्– हामी निर्वाचनमा व्यस्त छौँ । यसरी खाताबाटै पैसा चोरिएको तीन हप्ता पूरा भयो । न  प्रहरी प्रशासन, न त बैंकले नै सहयोग गरिरहेको छ । उजुरीपछि खातामा भएकोमध्ये ९७ हजार ५०० रकम होल्ड गरेर राखेको छ ।

विषय यति गम्भीर छ तर प्रहरीहरू भन्छन्– हामी निर्वाचनमा व्यस्त छौँ । यसरी खाताबाटै पैसा चोरिएको तीन हप्ता पूरा भयो ।

एटिएमबाट ५० हजार निकालेर लगिसकेका छन् । मैले चलाइरहेको बैंक एकाउण्ट सिज भइसकेको छ । बैंकका अध्यक्ष÷सञ्चालक÷वार्षिक तीन करोड हाराहारी तलब–सुविधा खाने कान्छो सेलिब्रिटी सिइओ रोशनकुमार न्यौपानेहरूका लागि एक–डेढ लाख ठूलो रकम होइन होला तर हामीजस्ता दश नंग्रा खियाएर मासिक आठ–दश हजार बचत गर्नेका लागि यो त ठूलो परिमाण हो । भन्छन् नि आज सियो चोर्नेले भोलि फलाम चोर्छ अनि भोलि फलाम चोर्नेले पर्सि घर फोर्छ । आज एउटा सेवाग्राहीको खाताबाट डेढ लाख चोरियो । भोलि अर्काेको खाताबाट डेढ करोड चोरिएला अनि पर्सि अर्बांै रकम चोरिएला । त्यसबेला बैंक के गरेर बस्छ ? 

गम्भीर र पेचिलो प्रश्न यो कि अनि वार्षिक करोडौँ तलब बुझ्ने सिइओको बैंकको यो कस्तो एप्स हो ? जहाँ मामुली एक दुई जना केटाहरू प्रवेश गरेर अर्काेको खाताको रकम सहजै ट्रान्सफर गर्न सक्छन् ? एउटा साधारण एप्स सर्भरमा कसरी प्रवेश गर्छ र अरुको खाताबाट पैसा ट्रान्सफर गर्छ ? यो विषयमा बैंक गम्भीर हुनुपर्छ कि पर्दैन ? जनताको सम्पत्ति सुरक्षा गरेर राख्छु भन्ने एउटा बैंकको प्रविधिभित्र जो–कोही पनि सहजै प्रवेश गरेर उसको एकाउण्ट नै ह्याक गर्न सक्ने गरी साइबर सेक्युरिटी राख्नेलाई कारबाही कसले गर्ने ? हुन त एनआइसी एसिया बैंकको सिइओले बूढानीलकण्ठमा महल ठड्याउँदा सार्वजनिक जग्गा मिचेर ठड्याएको विषय पेचिलो रूपमा उठिरहेको छ । यो गम्भीर ठगीको विषयमा बैंक तथा वित्तीय संस्था जिम्मेवार हुनुपर्ने कि नपर्ने ?

समयअनुरूपका प्रणाली नहुँदा ह्याक गर्ने, पैसा चोरी हुँदा पीडित झन् थपिँदै गएको छ । पहिला बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि मुख्य नारा राखेको बैंकले दिनानुदिन सर्वसाधारण ठग्दै आएको भेटिएको छ । यसअघि यस्तै कमसल सफ्टवेयरकै कारण एनआइसीको ४१ करोड स्विफ्ट ह्याक भएको होइन र ? कमसल सफ्टवेयर राखेर को, कसले कति कुम्ल्याए ? साइबर सुरक्षामा एनआइसी एसिया सबैभन्दा कमजोर रहेको आवाज उठ्न थालेको छ । बैंकको साइबर सुरक्षा अत्यन्तै कमजोर भएको र त्यसमा कर्मचारीहरूले समेत लापरबाहीले पराकाष्टा नाघेको देखिँदासमेत बैंकले अझै आफ्नो कमजोरी सच्याएको नदेखिनु दुःखद कुरा हो । 

अनि के प्रहरी प्रशासन अपराधलाई टुलुटुलु हेरेर बस्नका लागि मात्र खडा गरिएको हो ? होइन भने समाजमा अपराध बढ्दै जाने तर प्रहरीहरू त्यसलाई टुलुटुलु हेरेर बस्नुपर्ने अवस्था किन र कसका कारणले आयो ? अन्य मुलुकमा भुइँमा, कपडामा भेटेको रगतको डिएनए परीक्षण गरेर मृत्युदण्डको सजाय सुनाएको हामीले देखेका छौं तर हाम्रो अपराध महाशाखाका हाकिमहरूलाई ह्वाटसएपमा मोबाइल नम्बर ९८१२७६२७६० बाट शुरुमा म्यासेज आएको र किशोरकुमार मानन्धरले एटिएमबाट ५० हजार र मोबाइल नम्बर ९७४५८३१५०० भएको ठेगाना चन्द्रगढी नगरपालिका–१० बस्ने महेश विश्वकर्माले ९७ हजार ५०० रूपैंया रकम मेरो खाताबाट प्रभु बैंकमा ट्रान्सफर गरेको भेटिएको प्रमाण पेश गर्दा पनि किन समात्न सक्दैनन् अपराधीहरू ? मेरो बैंकबाट फलानो नाम र नम्बर भएका व्यक्तिले यसरी पैसा निकाल्यो भनेर किटानीसहित उजुरी दिँदासमेत त्यस्ता व्यक्ति समात्न प्रहरीलाई के ले रोकिरहेको छ ? 

– नदिम दानिस जमाली, विराटनगर 
 

टिप्पणीहरू