काठमाडौंका सडकमा लामो जाम, चोलेन्द्रलाई रोक्न खोजिएको अनुमान

काठमाडौंका सडकमा लामो जाम, चोलेन्द्रलाई रोक्न खोजिएको अनुमान File Photo

काठमाडौं उपत्यकामा ट्राफिक जाम नौलो विषय होइन । घण्टौं जाममा बस्नुपर्ने बाध्यता छ । ट्राफिक जामका कारण सर्वसाधारणको दैनिक सेड्युल नै अस्तव्यस्त बन्ने गरेको छ । 

तर,आज काठमाडौंका अधिकांश स्थानमा अरु बेलाभन्दा एकदमै लामो जाम छ । सिंहदरबार, पुतलीसडक,भद्रकाली,सुन्धारा, त्रिपुरेश्वरलगायतका स्थानको ट्राफिक जाम देखेर सर्वसाधारण आत्तिएका छन् । 

दुई घण्टा बितिसक्दा पनि जाम खुल्न सकेको छैन । जागिरमा जानेहरुलाई यो जामले थप पिरोलेको छ । सर्वसाधारणलाई आफ्नो गन्तव्यमा पुग्न सकस परेको देखिन्छ ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराको सम्भावित सर्वोच्च अदालत प्रवेशलाई रोक्न कानुन व्यवसायीहरु कस्सिएपछि जाम भएको अनुमान लगाइएको छ । 

जबरालाई सर्वोच्चभित्र छिर्न नदिन कानुन व्यवसायीहरुले मूल गेटमै धर्ना दिएका छन् । 

कानुन व्यवसायीहरुबाट धर्ना दिन र प्रवेश गर्न खोजे अवरोध गर्ने तयारी भएसंगै सर्वोच्च परिसरमा आज बाक्लो मात्रामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । 

यता,कोटेश्वर,बालकुमारी,ग्वार्को, सातदोबाटोलगायतका स्थानमा पनि लामो जाम छ । जसले गर्दा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जाम हुनुको कारण सर्वोच्चको आन्दोलन नभई अर्कै भएको दाबी गरेको छ । 

आज पुल्चोक इन्जिनियरिङ क्याम्पसमा विद्यार्थीहरुको ४८ औं दीक्षान्त समारोह भएकाले जाम भएको कार्यालयको भनाइ छ । 

भीआइपी व्यक्तिहरु समारोहमा उपस्थित हुने भएकाले ट्राफिक अस्तव्यस्त बनेको कार्यालयले बताएको छ । 

त्यस्तै,ग्वार्कोमा आजदेखि फ्लाइओभर बनाउने काम शुरु भएपछि यताको सडकमा पनि निकै जाम रहेको कार्यालयले जानकारी दिएको छ ।

टिप्पणीहरू