राजधानीकै प्रहरी चौकीमा आगो झोसे जनताले

राजधानीकै प्रहरी चौकीमा आगो झोसे जनताले

काठमाडौंको तारकेश्वर नगरपालिका ३,तीनपिप्लेस्थित प्रहरी चौकीमा आगजनी भएको छ । झण्डै दुई सय जना प्रदर्शनकारीले बेलुका चौकीमा आगो झोसेका हुन् । 

उनीहरुले हिजो साँझ पौने ७ बजेतिर चौकी र त्यहाँ रहेको एउटा मोटरसाइकलमा आगो लगाएको बुझिएको छ । आगलागीको घटनापछि तीनपिप्ले क्षेत्र तनावग्रस्त भएको छ । 

लगत्तै नेपाल प्रहरीले एक सय १० जना सुरक्षाकर्मीलाई सो क्षेत्रमा परिचालन गरेको छ । प्रहरीले साँझ ८ बजेको समयमा परिस्थितिलाई नियन्त्रणमा लिएको दाबी गरेको छ । आगलागीका कारण प्रहरी पोस्टको बाहिरी भाग जलेको छ ।

अस्ति राति स्थानीय २२ वर्षे सविन फुयाँलको मोटरसाइकल दुर्घटनामा ज्यान गएपछि स्थानीयवासी आन्दोलित भएका हुन् । फुयाँलले चलाएको प्रदेश ०२–०२५ प ६१८९ नम्बरको मोटरसाइकललाई ट्रिपरले ठोक्काएर लडाएको आरोप छ ।

घाइते फुयाँलको अस्ति राति शिक्षण अस्पताल,महाराजगञ्ज पुर्याएपछि ज्यान गएको थियो । त्यसपछि सो क्षेत्रमा जनताले ट्रिपर चल्न दिएका छैनन् । उनीहरुले बिमल बलामीको बा. ५ ख ६७७९ नम्बरको गाडीले दुर्घटना गराएको आरोप लगाएका छन् । 

हिजो घटनास्थल नजिकैबाट प्रहरीले ट्रिपर लैजान लैजान खोजेपछि जनता आक्रोशित भएका थिए । सडकमा टायर बालेर बिरोध गरेका स्थानीयले ढुंगा प्रहार गर्दै प्रहरी चौकीमा आगजनी गरेको बताइन्छ ।

टिप्पणीहरू