नयाँ आएका साना दललाई ठूला दलले यसरी माया दिए हुन्छ

नयाँ आएका साना दललाई ठूला दलले यसरी माया दिए हुन्छ

मन परे पनि नपरे पनि मुखिया, जमिन्दार, बिष्ट, काजी, जिम्मुवाललगायत ठूलाहरूले गाउँघरमा साँझपख आएका साना पाहुनालाई गच्छेअनुसार मीठोमसिनो ख्वाउने र गुन्द्री ओछ्याएर स्वागत गर्ने हाम्रो पुरानै मान्यता हो । दैलोबाटै, संघार टेक्नै नदिई फर्काउने नेपाली चलन छैन । अहिलेको चुनावी नतिजालाई हेर्दा पनि ठूला भनिएका दलमाझ साना दल पाहुनाजस्तै टुप्लुक्किएका छन् । यिनीहरूलाई स्वागत गर्नुबाहेक अर्थोक विकल्प छैन किनभने घरभित्रै पसेका पाहुनालाई कसैले पनि बाहिर जा भन्ने गरिन्न । 

नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्रजस्ता ठूला दलसँग कुम जोर्न साना दल सामुन्ने छन् । र, यिनलाई मानमनितो गर्नुपर्ने अवस्था सिर्जना भएको छ । यिनलाई सरकारी कामकाजको अभ्यासमा संलग्न नगराउँदा बाहिर अनावश्यक होहल्ला हुने पक्का छ । नत्र साना दलले हामी सत्तामा भएको भए यो गथ्र्यौं, त्यो गथ्र्यौं भन्दै कुरा काटेर हिँड्ने अवसर वा मौका रहिरहन्छ । नेपाली जनता संसदीय व्यवस्थाभित्र देखिएको विकृति र विसंगतिका कारण निराश छन् । राजनीतिक नेतृत्वमा देखिएको बेथितिदेखि वाक्क छन् । यसैको परिणामस्वरूप यी साना पात्रहरु एकाएक राजनीतिक पर्दामा चम्किएका हुन् । हिजोका दिनमा संसदभित्र पुगेका विश्वेन्द्र पासवान, गंगा चौधरी, इकबाल मियाँ र उमेश यादवहरूले उपद्रो मच्चाउँदै संसदीय व्यवस्थालाई बदनाम गर्ने भूमिका निर्वाह गरेका थिए ।

यसबाट राम्रै हँसाइ भएको थियो । संसद्मा देखिएको उनीहरूको गतिविधिका कारण संसद भनेको ‘खसीको टाउको झुण्ड्याएर बाख्राको मासु बेच्ने थलो’ भन्दै कट्टरपन्थी कम्युनिष्टलगायत संसदीय व्यवस्थाको विरोधीहरूले खिसीट्युरी गर्न भ्याएका थिए । अहिले आएका साना दल निकै उत्साहित छन् । खराब नियत भएका खरिदार, सुब्बाजस्ता साना पदका एकाध कर्मचारीलाई खबरदारी गर्न फिल्डमा उभिएका छन्, सुशासनको गफ दिन पनि भ्याएकै छन् । एकताका सिंहदरवारभित्रैका मन्त्रालयमा भ¥याङ बोकाएर गोकर्ण बिष्टले बिजुलीको बक्यौता उठाउन लाइन काट्दै हिँडेपछि वाहवाही कमाएका थिए । कुलमान घिसिङले विद्युत् चुहावट रोकेर लोडसेडिङ अन्त्य गर्नुका साथै प्राधिकरणलाई नाफामा लगेको भन्दै प्रशंसा कमाए । यी कुराले के संकेत गर्छ भने नेपाली जनताले राजनीतिक दल र तिनका नेतृत्वसँग ठूला कुराको आशा गरेका छैनन् । ठूला परिवर्तन पनि चाहेका देखिन्नन् । बरु यस्तै झिनामसिना काम कुरा गरे मात्रै पनि दंग पर्ने अवस्था छ । वृद्धभत्ता बढाउँदा बूढाबूढीमा देखिने खुशी र उमंगका कुरा गरिसाध्ये छैन । ०५१ सालदेखि त्यसैको क्रेडिट अहिलेसम्म पनि एमालेले पाइरहेको अवस्था छ । आम्दानी बढाउने, राजश्व वृद्धि गर्नेभन्दा भइरहेको आर्थिक स्रोतको बाँडफाँटमै रमाउने चलनले निरन्तरता पाइरहेको अवस्था छ ।

अहिले संसद्मा राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टीलगायत आकारमा साना देखिए पनि ती उल्लेखनीय संख्यामा छन् । त्यसैले यिनीहरूलाई अब बन्ने सरकारमा जुनसुकै गठबन्धनले सामेल गर्दा फरक पर्दैैन । एकल बहुमत कुनै पनि गठबन्धनको नभएकाले यिनीहरू सरकारभन्दा बाहिर बस्दा संघीयता र संसदीय व्यवस्था झन् बदनाम हुने सम्भावनालाई नकार्न नसकिने अवस्था छ । आपूmलाई भ्रष्टाचारविरोधी, सुशासनको हिमायती र विकासवादी वा प्रेमीका रूपमा प्रस्तुत गर्ने यी साना दललाई शहरी विकास, खानेपानी, भूमिसुधार, वन, स्वास्थ्य, भौतिक पूर्वाधार, समाज कल्याण, बालबालिका र विज्ञान प्रविधिलगायत विकाससँग जोडिएका चुनौतीपूर्ण मन्त्रालयको जिम्मेवारी सुम्पिए हुन्छ ।

हामीलाई थाहा छ, केपी शर्मा ओली प्रधानमन्त्री हुनासाथ ‘म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचारीलाई पनि सहन्न’ भन्ने नारा प्रत्येकजसो सरकारी कार्यालयको भित्ता र दैलोमा टाँस्न लगाइएको थियो तर उनैका पालामा यति र ओम्नीजस्ता काण्ड घटाइए । त्यसबेला थुप्रै सपना बाँडिए, हो सपना देख्न र बाँड्न पाइन्छ । आश्वासन दिएजस्तै बेनीसम्म रेल नपुग्ने कुरै भएन, टिकट काटेर पुस १५ गते पानीजहाज चढ्ने र घर–घरमा ग्यासको पाइप ओछ्याउने सपनाहरू पूरै भएन । यिनै कारणले गर्दा अहिले जनताले साना दललाई ठूला दलले उधुम मच्चाएको घरको संघारमा टेक्न पठाएका हुन् । यो सब ठूला दलको काम गर्ने शैलीप्रतिको वितृष्णाकै उपज हो । तसर्थ यिनलाई जनताले ठूलो मौका नदिए पनि, सरकार चलाउने अख्तियारी नदिए पनि सरकारमा सहभागी हुने हैसियतमा पु¥याएका छन् । यो हैसियतको कदर गर्न पनि विकास र भ्रष्टाचारविरोधी अब्बल दलको रूपमा प्रस्तुत हुने यी साना दललाई यिनै मन्त्रालय दिँदा हुन्छ, जहाँ बजेट बढी हुन्छ, जहाँ भ्रष्टाचार बढी हुन्छ । 

जिम्मेवारी दिएपछि बाहिर प्यार्रप्यार्र बोल्नु र काम गर्नु फरक हो भनेर बल्ल तिनले विभिन्न समस्या र कठिनाइबारे बुझ्न थाल्नेछन्, नेपाली कर्मचारीतन्त्रको व्यवहारबारे जान्नेछन् । राज्यको स्रोत–साधन र सीमितताबारे जानकारी पाउनेछन् । टेण्डर प्रक्रिया, सार्वजनिक खरिद ऐनलगायतका यावत् कानुनी जटिलता भोग्नेछन् । यी सबै कामकुरो बुझेपछि काम गरेर, मन जितेर, कांग्रेस र एमालेजस्तै ठूला दल भई मुलुकमा शासन चलाउलान् या त विवेकशील साझा पार्टी र राप्रपा नेपालजस्तै साइजमा आउलान् । यो कुरालाई पनि हेक्का राख्दै उनीहरूलाई सरकारमा सामेल गरियो भने जनमतको कदर पनि हुने देखिन्छ । उनीहरूको झण्डावाल गाडी सलाम खाँदै हिँड्ने महत्वाकांक्षाको पनि सम्बोधन हुनेछ । बाहिर बसेर थर्काउन र सरकारमा बसेर निर्देशन दिनुबीचको अन्तर के हुन्छ भन्ने कुरा पनि अनुभव मिल्नेछ । तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएपछि भ्रष्टाचार निर्मूल गर्ने भन्दै शाही आयोग बनाएर भरत जंगमहरूलाई देश दौडाहामा पठाएका थिए । सत्तामा पुगेपछि यिनले पनि कार्यशैलीमा परिवर्तन गर्छन् कि विधि र कानुन मिचेर बहुलठ्ठीपूर्ण किसिमले जथाभावी काम गर्छन्, त्यो पनि जनताले देख्न पाउनेछन् ।

आफ्नो महत्वाकांक्षा प्रतिविम्वित गर्ने सर्वोच्च ठाउँ संसद् हो तिनका निम्ति । पदीय हैसियत नपाएसम्म बाहिर बोल्ने र ठाउँमा गएर गर्ने कुरा फरक हुन्छ । चुनाव जितेलगत्तै जनतालाई नचिन्ने, जनताको घरदैलोमा नपुग्ने, जनताको काम नगर्ने भन्ने आरोप लगाउँदै आएका यिनले मन्त्री पदको गरिमा र मर्यादालाई कतिको कायम राख्न सक्छन् ? जनताबीच कसरी जान्छन् ? यिनको कथनी र करनीबीचको तादात्म्यता कसरी हुन्छ त्यो पनि देख्न पाइन्छ । संसदीय प्रणालीमा प्रधानमन्त्रीले जे चाह्यो त्यही हुन्छ । मन्त्री एक्लैले केही गर्नै सक्दैन । तसर्थ ठूला दलहरूले आफूूलाई परिवर्तनकामी भन्दै संसदमा पुगेका यी साना दलभन्दा आफूलाई कम मन्त्री पद लिएर भए पनि जिम्मेवारी दिन अघि सर्नुपर्छ । राष्ट्रपति–उपराष्ट्रपति, प्रधानमन्त्री–उपप्रधानमन्त्री, सभामुख–उपसभामुख, राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षलगायत महत्वपूर्ण पद यी साना दलले पाउने कुरा पनि भएन । यिनले पाउने भनेको मन्त्रालय नै हो । त्यसैले यिनलाई विकासे मन्त्रालय भनिएका सबै जिम्मा लगाइदिए हुन्छ । उछलकुदल गर्ने खेलकुद मन्त्रालय पनि दिए हुन्छ । काम गरिखाऊ भन्न ठूला दलले कुनै कञ्जुस्याइँ गरिरहनु पर्दैन । र, ठूला दलचाहिँ नीति निर्माणजस्तो चुनौतीपूर्ण भूमिका निर्वाह गर्न तयार हुनुपर्छ । राम्रो काम गरे राम्रै प्रतिफल पाउलान्, काम गर्न सकेनन् भने जनताले आउँदो निर्वाचनमा स्वाद चखाइदेलान् । 

अहिले राजधानी काठमाडौंको सुकुम्बासी समस्या जटिल बनेको छ, मुलुकभर यसले गाँजेको छ । यो समस्या समाधान गर्न यिनैलाई जिम्मा दिए हुन्छ । शहरका जनता पनि खुश अनि सुकुम्वासी पनि खुश हुने गरी समाधान गर भनी यिनैलाई जिम्मेवारी दिए हुन्छ । सुकुम्वासीको समस्या समाधान र शहरको सुन्दरता पनि कायम रहन सकोस् । उखुखेती गर्ने किसानहरू ठगिएको जगजाहेर छ, कृषकलाई मार्ने बिचौलियाको चलखेल बन्द गर्ने काम पनि यिनैलाई दिए हुन्छ । सडक मिचेर कारखाना, घर र बिल्डिङ बनाउने बिनोद चौधरीहरू, कमसल पुलपुलेसा बनाउने हरि रौनियार पप्पु र विक्रम पाण्डेहरूलाई तह लगाउन भौतिक तथा योजना मन्त्रालय पनि यिनैलाई दिए हुन्छ । वैदेशिक रोजगारीमा जान बाध्य नेपाली युवायुवतीलाई स्वदेशभित्र रोजगारी सिर्जना गर्दै यहीं रमाउने वातावरण तयार गर्न यिनैलाई दिए हुन्छ किनभने साना दलले समाधान गर्छौं भनेका मूल मुद्दा यिनै हुन् । यी काम गर्न सके भने जनताले सानाबाट ठूला दलमा रूपान्तर गर्लान्, सकेनन् भने राप्रपा नेपाल र विवेकशील साझा पार्टीजस्तै बन्लान् । किनभने यीमध्ये केही पार्टी सिद्धान्त, नीति र विचारसहित संगठित दस्ता होइनन् । सत्तामा पुगेपछि यसैभित्र विभिन्न मत प्रस्तुत हुने र विग्रह जन्मिने स्थिति हुन्छ । अनि फेसबुकलगायतका सामाजिक सञ्जालमा गाली गर्दै नकारात्मक कुरामा रमाउनेहरूको इच्छा–आकांक्षा पनि सम्बोधन हुन सक्छ । 

 

टिप्पणीहरू