सशस्त्रमा व्यापक सरुवा, आइजिपीको दिल्ली यात्रा स्थगित

सशस्त्रमा व्यापक सरुवा, आइजिपीको दिल्ली यात्रा स्थगित

आगामी पुस २० गतेका लागि तय भएको सशस्त्र प्रहरी महानिरीक्षक (आइजीपी) राजु अर्यालको भारत भ्रमण स्थगित भएको छ । भारतीय गृहमन्त्री अमित शाहले त्यो बेला व्यस्तताका कारण समय दिन नसक्ने अवस्था उत्पन्न भएपछि भ्रमण पछि सरेको  बताइएको छ । 

गृहमन्त्रीको समय तय गरेर आइजीपी अर्यालले छिट्टै भ्रमण गर्ने तयारी छ ।  आइजीपी अर्यालको हिजोबाट हुने भनिएको पश्चिम नेपालको भ्रमण पनि रोकिएको छ । उहाँ बाँके,बर्दिया जाने कार्यक्रम थियो ।

यता,सशस्त्रको नेतृत्व सम्हालेदेखि संगठन सुधारमा केन्द्रित आइजीपी अर्यालले तल्लो दर्जाका प्रहरी कर्मचारीको पक्षमा विभिन्न निर्णय गराउनु भएको छ । सशस्त्रले अस्ति मंगलबार एकैचोटी आठ हजार सिपाहीको सरुवा निकालेको थियो । जसमा सिपाहीहरुलाई उनीहरूको प्राथमिकताअनुसार फारम भराएर सम्भव भएसम्म रोजेको ठाउँमा सरुवा गरिएको बताइएको छ । 

तराईको सीमावर्ती इलाकाका युनिटहरूमा पाँच वर्ष काम गरेका जवानलाई  पहाड र अन्यत्र सरुवा गरिएको छ । त्यस्तै, श्रीमान-श्रीमतीलाई सम्भव भएसम्म एउटै इलाकामा सरुवा गरिएको पनि सशस्त्र स्रोतले जनाएको छ ।

टिप्पणीहरू