माओवादीमा अर्को विवाद : उजुरीमाथि उजुरी,काण्ड किर्तेको

माओवादीमा अर्को विवाद : उजुरीमाथि उजुरी,काण्ड किर्तेको

नेकपा माओवादी केन्द्रमा समानुपातिक सांसद चयन प्रक्रियाप्रति असन्तुष्टी जनाउँदै जुम्लाका नेताहरुले केन्द्रीय कार्यालयमा हालेको उजुरीको वैधानिकतामाथि प्रश्न उठेको छ । उजुरीमा हस्ताक्षर गरेका नेताहरुले नै सार्वजनिकरुपमा त्यसप्रति आफ्नो असहमति जनाएपछि प्रश्न उठेको हो ।  

प्रतिनिधिसभामा समानुपातिकतर्फ १४ सीट जितेको माओवादीले जनजाति क्लस्टरबाट जुम्लाकी छिरिङ्गलामु लामा तामाङको नाम सिफारिस गरेको थियो । तर, जिल्लाले सिफारिस नै नगरेको नाम समानुपातिकमा पारिएको भन्दै सोमबार पार्टी कार्यालय पेरिसडाँडामा प्रदेश र जिल्ला कमिटीका जिम्मेवार नेताहरुको हस्ताक्षरसहितको असहमति पत्र बुझाइयो । जसमा पार्टीको स्थापित विधि,पध्दति र मान्यतालाई कुल्चिएर अमूक नेताको स्वार्थका लागि लामाको नाम निर्वाचन आयोगमा पठाएको आरोप छ । 

असहमति पत्रमा जिल्ला कमिटीले बृहत छलफल गरी समानुपातिक नामप्रति गम्भीर असहमति प्रकट गर्दै तत्काल सच्याउन माग गर्ने निर्णय भएको उल्लेख छ । भनिएको छ, 'जिल्ला कमिटीले बृहत छलफल गरी यस कार्यले जिल्ला पार्टी निर्माणमा गम्भीर असर पर्ने देखिएकाले के र कसरी पार्टी पध्दति विपरित पार्टी निर्माणमा खासै ठूलो योगदान नरहेको व्यक्ति सिफारिस भएको हो । जानकारी गराइदिन अनुरोधका साथ सिफारिस प्रक्रियामा जिल्ला कमिटीको पूर्ण असहमति रहेको छ ।'

तर,माओवादी केन्द्र जुम्लाका संयोजक वीरबहादुर कुँवर,केन्द्रीय सल्लाहकार डा. कलबहादुर रोकायालगायातका नेताहरुले भने जिल्ला कमिटीले यस्तो निर्णय नै नगरेको बताएका छन् । सोमवारको उजुरीमा कुँवर र रोकाया दुबैको हस्ताक्षर छ । उनीहरुले आफ्नो हस्ताक्षर किर्ते गरिएको आरोप लगाएका छन् । 

"प्रदेश सदस्यको हैसियतमा हस्ताक्षर गरेका विष्णु बूढा र अप्सरादेवी न्यौपानेले पार्टीबाट राजीनामा दिइसकेको, सरिता बूढा हाल भारतमा रहेको र कुशा शाही कांग्रेस प्रवेश गरेको स्थानीय नेताहरुको भनाइ छ ।"

सामाजिक सञ्जालमार्फत डा. रोकायाले भनेका छन्, 'मेरो नामसँग जोडिएर आएको जुम्ला समानुपातिकतर्फको विवाद झुट हो । मेरो यसमा संलग्नता छैन र हुँदैन पनि । कसको षड्यन्त्र हो बुझ्न जरुरी छ । केन्द्रीय पार्टीले गरेको निर्णय स्वागतयोग्य छ ।' 

अर्का नेता प्रेम जुम्लाकोटीले पनि आफ्नो हस्ताक्षर दुरुपयोग भएको बताए । 'जुम्लामा भएको हस्ताक्षर अभियानमा मेरो सहमति छैन,साथै साइन पनि मेरो होइन ।  यस्तै अरु केही साथीको पनि सुन्नमा आएको छ', उनले लेखेका छन्, 'जुम्ला पार्टीको अवस्था हेरेर केन्द्र पार्टीले सय प्रतिशत सही निर्णय गरेको छ ।'

माओवादी कर्णाली प्रदेश कमिटी सदस्य दिपक गौतमले जिल्ला कमिटीको बैठक नबसेको र समानुपातिक सांसदबारे कुनै निर्णय नै नभएको बताएका छन् । चुनावपछि समीक्षा बैठकसमेत नबसेको अवस्थामा जिल्ला कमिटीको हवाला दिएर केही व्यक्तिले प्रतिशोधको राजनीति गरेको उनले आरोप लगाए । पार्टीलाई बदनाम गराउन किर्ते हस्ताक्षर गरेर लफडा झिकिएको उनको दावी छ । 

'यसअघि नै पार्टी छोडिसकेका, पलायन भएका,विदेश पुगेका, काठमाडौँमा रहेकाहरुको हस्ताक्षर बटुलेर किर्ते काम भएको छ', जनआस्थासँग कुरा गर्दै उनले भने, 'पार्टीका इञ्चार्ज र संयोजकलाई थाहै नहुने गरी छाप र लेटरहेड प्रयोग गर्नु अर्को अपराध हो । त्यसमा संलग्नहरुलाई जिल्ला पार्टीले कारवाही गर्छ ।' 

यो प्रक्रियाको अगुवाई गरेका जीवन बुड्थापा स्वयंको समेत हस्ताक्षर छैन । त्यस्तै, प्रदेश कमिटीका अधिकांशको हस्ताक्षर खालि राखिएको छ । प्रदेश सदस्यको हैसियतमा हस्ताक्षर गरेका विष्णु बूढा र अप्सरादेवी न्यौपानेले पार्टीबाट राजीनामा दिइसकेको, सरिता बूढा हाल भारतमा रहेको र कुशा शाही कांग्रेस प्रवेश गरेको स्थानीय नेताहरुको भनाइ छ ।

टिप्पणीहरू