आइजिपीको हकमा अर्थबाट यस्तो पत्र आयो

आइजिपीको हकमा अर्थबाट यस्तो पत्र आयो

प्रहरीभित्र बहुप्रतिक्षित सेवा, शर्तको संशोधन त भयो तर अहिलेका सबै घर गएपछि अर्काे वर्ष रोल क्रममा चल्नेले मात्र अवसर पाउने गरी । हल्ला थियो, अहिलेका महानिरीक्षक धीरजप्रताप सिंहसहितको टोलीले ३० वर्षे सेवा अवधि पूरा गरी चैत १० गते घर जानु नपर्ने गरी प्रहरीको सेवा, शर्त संशोधन हुँदै छ । संशोधन भयो पनि तर सबै घर गएपछि, अर्को ब्याचलाई फाइदा हुने गरी ! अहिले प्रहरी अवकाशमा ३० वर्षे सेवा अवधि वा उमेर हदमध्ये जुन पहिला आउँछ, त्यहीअनुसार हुने व्यवस्था छ ।

तर, अर्थ मन्त्रालयले अस्ति मात्र प्रहरी सेवा ऐन– २०१२, परिच्छेद ३, दफा ९ (२) माथि संशोधन मान्य हुने गरी स्वीकृति पत्र पठाएको छ । प्रहरी नियमावली २०७१, परिच्छेद ११, नियम १२७ संशोधन भई ३० वर्षे सेवा अवधि त हट्यो । त्यसको सट्टामा पदावधि वा उमेरमध्ये जुन पहिला आउँछ, त्यहीअनुसार अवकाश हुने व्यवस्था पनि भयो । तर, यो कुरा आजभोलि नै लागु हुँदैन, एक वर्षपछि लागू हुने गरी स्वीकृत गरिएको हो । यसअनुसार, अबको महानिरीक्षकले नियुक्ति पाएको मितिले तीन वर्षसम्म पदावधि गुजार्न पाउनेछ ।

तर, उमेरहद ५७ वर्ष कायम गरिएका कारण अवधि तीन वर्ष पुग्नुअघि नै उमेर ५७ पुग्यो भने अवकाश हुन्छ, अन्यथा हुँदैन । अतिरिक्त महानिरीक्षक (एआइजी) का हकमा उमेर ५७ वर्ष र पदावधि चार वर्ष कायम  गरिएको छ भने नायव महानिरीक्षक (डिआइजी) को हकमा उमेर ५७ वर्ष र पदावधि पाँच वर्ष तोकिएको छ । त्यस्तै वरिष्ठ उपरीक्षक (एसएसपी) को हकमा उमेर ५६ र पदावधि ६ वर्ष, उपरीक्षक (एसपी) को हकमा उमेर ५६ र पदावधि १० वर्ष तोकिएको छ । नायव उपरीक्षक (डिएसपी) र निरीक्षक (इन्स्पेक्टर) को हकमा क्रमशः उमेर ५५ र ५४ राखिएको छ । हवल्दार, सहायक हवल्दार र प्रहरी जवानको हकमा उमेर हद क्रमशः ५१ र ५५ कायम भएको छ ।

यो व्यवस्थाले प्रहरीमा तत्काल सिर्जना गर्ने समस्या हो, बढुवा जाम । ३० वर्षे सेवा अवधि लागेर घर जान ठिक्क भएका थुप्रै अधिकृत उमेर हद वा पदावधि पर्खिंदा उनीहरूको अवकाश ढिलो हुन्छ । फलतः तल्लो दर्जाबाट माथिल्लो दर्जामा उक्लिनुपर्नेहरूले बढुवाका लागि विद्यमान समयसीमा भन्दा केही बढी समय पर्खिनुपर्ने स्थिति आउनेछ ।
फाइदामा को–को ?

३० वर्षे सेवा अवधि हटेर उमेरहद र पदावधिमात्रै लाग्ने भएपछि चैत ११ गते बहाल हुने आइजिपी र उक्त टोलीका सबै अधिकृत शुरुमै लाभान्वित हुने छन् । त्यसअनुसार, २०५१÷१२÷०५ मा भर्ना भएको इन्स्पेक्टर टोलीका अफिसरमध्ये अहिले डिआइजीको वरियतामा पहिलो नम्बरमा रहेका बसन्तबहादुर कुँवरको जन्म मिति २०२६÷१२÷१५ हो । यसअनुसार, उनको जागिर ३० वर्षको हुँदा उमेर ५५ मात्रै हुन्छ । त्यसैले उनी चैत ११ गते महानिरीक्षक भए भने २०८३ सालसम्म पदमा रहन्छन् । त्यसो गर्दा त्यही ब्याचबाट जन्ममिति २०२५ भएका अधिकृतहरू सन्दिप भण्डारी, अशोक सिंह, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, मीरा चौधरीमध्येले आइजिपी बन्ने मौका पाउँछन् । फेरि त्यही ब्याचबाट डिआइजी बढुवा भएका र जन्ममिति २०२८÷०८÷०८ का दीपक थापासहित ०२७ सालका टेकबहादुर तामाङमध्येबाट आइजिपी बन्छन् ।

यसको घाटा त्योभन्दा मुनिको ब्याचलाई पर्छ । एउटै ब्याचबाट तीन जनासम्म आइजी हुँदा त्यसपछि डिआइजीसम्म हुने अधिकृतहरू उमेर हद लागेर घर जाने अवस्थामा पुग्छन् । उदाहरणका लागि ०५१, ०५२ को ब्याचले आइजिपी चलाएपछि पालो आउने राष्ट्रिय अनुसन्धानबाट सेवा परिवर्तन गरेको टोलीका पहिलो नम्बरका अधिकृत सिद्धिविक्रम शाहको जन्म मिति २०२८÷०७÷१० हो । २०८३ सालमा उमेर ५८ वर्ष पुग्दा उनी कि एआइजी भइसकेको हुनुपर्छ । अन्यथा भ्याउँदैनन् । उनीमात्र हैन, त्यही ब्याचका सुशीलसिंह राठौर, माधव श्रेष्ठ, डम्बर बिक, उमाप्रसाद चतुर्वेदीसम्मको उमेरले नेटो काट्छ । त्यसपछि २०३२ साल साउन २८ को जन्म मिति भएका डा.मनोजकुमार केसीले बल्लबल्ल आइजिपी भेट्ने सम्भावना हुन्छ । दानबहादुर कार्कीको  जन्म मिति २०२९ साउन १५, दिनेश आचार्यको २०२८ असार १३ हुँदा उनीहरू अहिल्यै भन्न सकिने स्थितिमा रहँदैनन् । 
 

टिप्पणीहरू