इलामबाट जित्नेमाथि क्रमश: मुद्दा

इलामबाट जित्नेमाथि क्रमश: मुद्दा

 निर्वाचनमा धाँधली गरेको दावीसहित पूर्वसभामुख तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ । 

नेम्वाङले धाँधली गरेर चुनाव जितेकाले पुन: मतगणना गर्नुपर्ने माग गर्दै निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले आज मुद्दा दायर गरेका हुन् । रिटमा नेम्वाङको विजय घोषणा बदर गरी फेरि मतगणना गर्न माग गरिएको छ ।  

मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा इलाम-२ बाट निर्वाचित नेम्वाङले कांग्रेसका खड्कालाई जम्मा ११४ भोटले हराएका थिए । निर्वाचन कार्यालयका अनुसार नेम्वाङले ३० हजार २० मत प्राप्त गरेर जित हासिल गर्दा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खड्काले २९ हजार ९०६ मत प्राप्त गरेका छन् । 

इलामकै क्षेत्र नम्बर १ बाट पराजित पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पनि निर्वाचन परिणाम अस्वीकार गर्दै सर्वोच्चमा मुद्दा हालेका छन् । आफूलाई षड्यन्त्रपूर्वक पराजित गरिएको दावी गर्दै उनले पनि पुन: मतगणनाको माग गरेका छन् ।
 

टिप्पणीहरू