‘थ्रेस होल्ड’विरुध्द रिट,केहीलाई पसिना चिटचिट

‘थ्रेस होल्ड’विरुध्द रिट,केहीलाई पसिना चिटचिट

निर्वाचनसम्बन्धी कानुनमा उल्लेखित ३ प्रतिशत मतको औचित्यबारे प्रश्न उठाउँदै सर्वोच्च अदालतमा गत साता रिट निवेदन परेको छ । हालैको आमनिर्वाचनमा छ वटा दलले प्राप्त गरेको ३ वा सोभन्दा बढी र अन्यले प्राप्त गरेको सोभन्दा कम मतको औचित्यमाथि प्रश्न उठाइएको रिट निवेदकहरुको दावी छ ।‘राष्ट्रिय पार्टीको निम्ति तोकिएको थ्रेस होल्डको व्यवस्थाबारे रिट परेको हो,’ उल्लेख गर्दै सर्वोच्च स्रोतले भन्यो, ‘निर्वाचन ऐनमा भएको उक्त व्यवस्था हटाउन माग गरिएको छ ।’

रिट निवेदनमा ३ प्रतिशत नपुगेको मतलाई बेवास्ता गरिनु मतदाताको अपमान हुने आशय राखिएको छ । अहिलेको व्यवस्थाअनुसार ३ प्रतिशत मत कटाइएको कूल मतलाई आधार मानेर एक सय १० सीट भागबण्डा गरिन्छ । त्यसो गर्दा तोकिएको प्रतिशत नजिक पुगेको लाखौं मतको गणना हुँदैन । मतको कदर नभएको गुनासो बढेपछि रिट हालिएको बताइन्छ । 

हालैको निर्वाचनमा नेकपा एकीकृत समाजवादीले २ लाख ९४ हजार ४११ मत ल्याएको छ । त्यसैगरी नागरिक उन्मुक्ति पाटीले २ लाख ७१ हजार ६६३,लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ६७ हजार २८२ र नेपाल मजदुर किसान पार्टीले ७५ हजार ६४ मत पाएका छन् ।

यी सबै पार्टीले प्राप्त गरेको मत झण्डै ७ लाखको हाराहारीमा देखिन्छ । तर ३ प्रतिशत कटाएका राप्रपाका ५ लाख,जनता समाजवादीका ४ लाख र जनमत पार्टीको ३ लाखबढी मत छ । यस्तो अवस्थामा थ्रेस होल्डको औचित्य र ती दलले प्राप्त गरेको मतको कदरको सन्दर्भ उठाइएको हो । 

तर छिमेकी मुलुक भारतमा राष्ट्रिय पार्टीको निम्ति राखिएको कानूनी शर्त नेपालको भन्दा पनि कडा र लम्बेतान रहेको बताइन्छ । भारतमा ६ प्रतिशत मत ल्याउन आवश्यक छ भने त्यस्ता दलले अन्य चार वटा राज्यमा पनि तोकिएको ‘पपुलर’ मत ल्याएको अवस्थामा मात्रै राष्ट्रिय पार्टी हुने अवस्था रहेको निर्वाचन आयोगका एक जना आयुक्तले बताए ।

टिप्पणीहरू