नेकपा (एस) का अध्यक्षद्वारा पोर्टेबल भिडियो एक्स–रे हस्तान्तरण

नेकपा (एस) का अध्यक्षद्वारा पोर्टेबल भिडियो एक्स–रे हस्तान्तरण

पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्वास्थ्य सामग्री वितरण गर्नुभएको छ । रौतहट निर्वाचन क्षेत्र नम्बर १ का सात स्थानीय तहलाई उहाँले एक–एक थान भिडियो अल्ट्रासाउण्ड मेसिन हस्तान्तरण गर्नुभएको हो । 

प्रति थान १५ लाख ६५ हजार ९६ रुपैयाँ पर्ने सात वटा मेसिन उहाँले बाँड्नुभएको छ । स्वास्थ्य सामग्रीमा उहाँले कूल एक करोड ९ लाख ५५ हजार ६७४ रुपैयाँ खर्चिनुभएको छ । उक्त सामग्रीले स्वास्थ्य सेवामा महत्वपूर्ण भूमिका खेल्ने विश्वाससमेत लिइएको छ । सामग्रीमा सानो भिडियो एक्स–रे मेसिनसमेत छ । उक्त मेसिन झोलामा बोकेर हिँड्न मिल्छ । प्रत्येक वडाको स्वास्थ्य चौकीमा पुगेर सेवा प्रदान गर्न सकिने खालको मेसिन प्रदान गरेको बताइएको छ । 

यो मेसिन विशेषतः गर्भवती महिलाका लागि उपयोगी छ । तर, अन्य बिरामीले पनि यसबाट फाइदा लिन सक्नेछन् । सोही क्षेत्रबाट निर्वाचित अध्यक्ष नेपालले स्वास्थ्य,शिक्षा तथा विभिन्न क्षेत्रमा चौतर्फी विकासमा समुदायको आवश्यकतालाई महशुस गर्दै सहयोगको शुरुवात गरेको बताउनुभएको छ । 

सामग्री हस्तान्तरण कार्यक्रममा विभिन्न पालिकाका जनप्रतिनिधि, क्षेत्र नम्बर १ (क) बाट प्रदेश सभामा निर्वाचित नागेन्द्र साह, (ख) बाट निर्वाचित कृष्ण यादव तथा एकीकृत स्वास्थ्यकर्मी संगठन नेपालका मधेश प्रदेश अध्यक्ष एवम् स्वास्थ्य मन्त्रालयमा कार्यरत डा. सुरेन्द्र ठाकुरको उपस्थिति थियो ।

टिप्पणीहरू