एकीकृत समाजवादीको कार्यालयमा वामदेवसहितको बैठक

एकीकृत समाजवादीको कार्यालयमा वामदेवसहितको बैठक

नयाँ सरकार गठनका लागि दलहरुबीच रस्साकस्सी चलिरहेका बेला शीर्ष नेताहरुको भेटघाट बाक्लिएको छ । निर्वाचनमा कुनैपनि दलले बहुमत प्राप्त नगरेको र सरकार गठनको सबै सम्भावना जीवित रहेकाले नेताहरुको भागदौड बढेको हो । 

गठबन्धनको निरन्तरता र नयाँ सरकारको विषयलाई लिएर सत्ता गठबन्धनका शीर्ष तथा दोस्रो तहका नेताहरुले दिनहुँ सामुहिक तथा छुट्टाछुट्टै भेटघाट गरिरहेका छन् । यसैबीच वामपन्थी एकताको पक्षमा वकालत गर्दै आएका वामदेव गौतमसहित एकीकृत समाजवादीका शीर्ष नेताहरुले गोप्य छलफल गरेका छन् । 

केही समययता सक्रिय राजनीतिमा नदेखिएका गौतम भेटघाटका लागि भर्खरै समाजवादीको मुख्यालय पुगेका हुन् । अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल र गौतमबीच अहिले छलफल चलिरहेको बताइएको छ । 

गठबन्धनबाट चुनाव लडेको नेपाली कांग्रेस माओवादी र एकीकृत समाजवादीलाई बाहिरै राखेर सरकारको नेतृत्व लिने तयारीमा लागेपछि वाम खेमा पनि छुट्टै रणनीति बनाउन जुटेको हो । यसअघि माओवादी र समाजवादीका नेताहरुले विभिन्न तहमा नियमित कुराकानी गरिरहेका छन् भने एमालेका दोस्रो र तेस्रो तहका नेताहरु पनि संवादमा छन् ।

टिप्पणीहरू