काम गर्न पाऊँ हजुर

काम गर्न पाऊँ हजुर

प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा पुनः सर्वोच्च गएर काम गर्न चाहनुहुन्थ्यो । तर उहाँलाई अदालत छिर्न दिइएन । उहाँ आउनुहोला र भित्र पस्नुहोला भनेर वकिलहरु मूलद्वारमै धर्ना बसे । फलतः उहाँ आउनु भएन । कालोकोट लाउनेले कालोकोटै लाउनेलाई अब भित्रै पस्न दिँदैनन् भने किन जानु ?

वास्तवमा यो देशै अनौठो छ । देशमा काम भएन, काम भएन भनेर गुनासो गरिन्छ । सर्वोच्च अदालतमा त झनै काम भएन भन्ने गुनासो चर्को छ । अब काम हुन्छ कसरी ? काम गर्ने मान्छेलाई कामै गर्न दिइँदैन भने कसरी हुन्छ काम ?श्रीमान् चोलेन्द्र त काम गर्न चाहनुहुन्थ्यो । तर उहाँलाई काम गर्न दिइएन ।

घरमा बस्दा बस्दा वाक्क लागेर उहाँले अस्ति संसद सचिवालयलाई काम गर्ने वातावरण मिलाइदिन अनुरोध गर्नुभएको थियो । सचिवालयले पनि उहाँलाई काम गर्न दिनू भनेर पत्र पठायो । तर पत्र आए पनि सर्वोच्चले काम गर्न दिएन । काम गर्न दिँदैनौँ भनेर वकिलहरु गेटमै धर्ना बसे । अब काम गर्ने मान्छेलाई काम गर्न नदिएपछि देशमा काम हुन्छचाहिँ कसरी ?

काम गर्ने मान्छेलाई काम गर्न दिए पो काम हुन्छ । काम गर्ने मान्छेलाई काम गर्न नदिने अनि काम भएन भनेर गुनासो मात्रै गर्ने ? नगर्नेले त गरेन गरेन, गर्नेलाई त गर्न दिनुप¥यो नि ! काम गर्छु भन्नेलाई त काम गर्न दिइँदैन भने यो देशमा अरु काम कसरी हुन्छ ?
 

टिप्पणीहरू