काँग्रेसमा दलको नेता छान्न निर्वाचन समिति, प्रदेशलाई त्यतै मिलाउन निर्देशन

काँग्रेसमा दलको नेता छान्न निर्वाचन समिति, प्रदेशलाई त्यतै मिलाउन निर्देशन

सत्तारुढ नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया शुरु गरेको छ । आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले संसदीय दलको निर्वाचनका लागि तीन सदस्यीय समिति गठन गरेको हो । 

 प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार बैठकले सहमहामन्त्री भीष्मराज आङदेम्बेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । समितिमा पुष्पा भुसाल र प्रकाश स्नेही सदस्य छन् । समितिले अब दलको नेता छान्न निर्वाचनको मिति तोक्नेछ ।

बैठकमा चाँडै संसदीय दलको नेताको चयनबारे छलफल गरेको र मंगलबार निर्वाचन हुनसक्ने महतले बताएका छन् । यसअघि महामन्त्री गगन थापाले आगामी बुधबार निर्वाचन हुने बताएका थिए ।

यस्तै, कांग्रेसले प्रदेश सरकारका विषयमा आवश्यक रणनीति बनाउन प्रदेश समितिलाई अधिकार दिएको छ । प्रदेश संसदीय दल र प्रदेशमा सरकार बनाउने विषयमा अन्य दलहरूसँग छलफल गर्न प्रदेश समितिलाई निर्देशन दिएको प्रवक्ता महतले बताए । 

केन्द्रको यो निर्णयसँगै अब कांग्रेस प्रदेश कार्यसमितिलाई आ-आफ्नो प्रदेशमा संसदीय दलको नेता चयन र सरकार बनाउन बाटो खुला भएको छ ।

टिप्पणीहरू