बालकोट सरकार बनाउने कसरतमा, महासचिव ठ्याक्कै उल्टो बाटोमा

बालकोट सरकार बनाउने कसरतमा, महासचिव ठ्याक्कै उल्टो बाटोमा

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको निम्ति हिजो एक साताको म्याद दिनुभएको छ । उहाँले आगामी आइतवार साँझ ५ बजेसम्म दुई वा दुईभन्दा बढी राजनीतिक दलको संलग्नतामा सरकार गठनको दाबी गर्न आह्वान गर्नुभएको छ । संविधानको धारा ७६,उपधारा (२) बमोजिम उक्त आह्वान गरिएको शीतल निवासले जनाएको छ ।
उक्त आह्वानअगावै मुख्य राजनीतिक दलका मुख्य नेताहरु आफ्नो नेतृत्वमा सरकार बनाउने कसरतमा लागिसकेका छन् । विशेषगरी नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उक्त दौडमा सर्वाधिक अगाडि देखिनुहुन्छ । 

सरकार गठनको निम्ति आवश्यक १३८ जनाको स्पष्ट बहुमत कुनै पनि दलसँग नभएकाले यतिखेर एमालेसमेत सत्ता गठबन्धनको समीकरण बदलेर भए पनि नयाँ सरकार गठनको मार्गमा अग्रसर भएको छ । तर,उसले प्रधानमन्त्रीबारे औपचारिक धारणा बाहिर ल्याएको छैन । स्वयम पार्टी महासचिव शंकर पोखरेलले भने एमाले सत्ता गठनको खेलमा नलाग्ने बताउँदै आउनुभएको छ ।

आमनिर्वाचनमा माओवादी केन्द्रकी रेखा शर्मासँग पराजित पोखरेलको उक्त धारणा पार्टीभित्रको शक्ति सन्तुलनमा आफूलाई माथि राख्न गरिएको योजना भएको उहाँ विरोधीहरुको बुझाइ छ । हिजो आयोजित नेपाल उत्पीडित जातीयमुक्ति समाजको ३५औँ स्थापना दिवस कार्यक्रममा बोल्दै पोखरेलले एमाले सत्ता गठनको फोहोरी खेलमा नलाग्ने धारणा राख्नुभएको थियो ।

उहाँले पछिल्लो पटक भन्नुभएको छ, ‘यस पटकको निर्वाचनमा जनताले एमालेलाई सरकार गठनको जनादेश दिएको छैन । जनादेशभन्दा विपरीत हुनेगरी सत्तापक्षमा बस्ने भन्ने नै हुँदैन । पार्टीले यस पटक प्रतिपक्षमा बस्ने धारणा यसअघि नै स्पष्ट पारिसकेको छ ।’

टिप्पणीहरू