फुर्सदै छैन-कहिले खुमलटार,कहिले बालुवाटार

फुर्सदै छैन-कहिले खुमलटार,कहिले बालुवाटार

आगामी सरकार गठनको नेतृत्वबारे चुलिएको रस्साकस्सीसँगै प्रमुख राजनीतिक दलका नेताहरुबीचको भेटघाट झन बाक्लिएको छ । राजनीतिक दलहरुबीच अन्तर सम्वाद र आन्तरिक सम्वादले निकै गति लिएको देखिन्छ । 

सोही क्रममा हिजो नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा विभिन्न भेटघाट र कुराकानी भएका छन् । बिहानैदेखि भएका भेटघाटमध्ये मुख्यगरी बिहान ९ बजेको समयमा पूर्व सभासद् तथा माओवादी नेता रामनारायण बिडारीले अध्यक्ष दाहालसँग झण्डै एक घण्टा कुराकानी गर्नुभएको बताइन्छ । 

लगत्तै दाहाल निवासमा नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का पुग्नुभएको थियो । उहाँले अध्यक्ष दाहालसँग पौने १० बजेदेखि ४५ मीनेट बालुवाटारको सन्देशसहित कुराकानी गर्नुभएको स्रोतको दाबी छ । अस्ति बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग एक्लै कुराकानी गर्नुभएका अध्यक्ष प्रचण्डले आगामी सरकारको नेतृत्व आफूले गर्नुपर्ने माग राखेपछि काँग्रेस र माओवादीबीच सम्बन्धमा तरंग आएको छ । सोही सन्दर्भमा हिजो उपसभापति खड्का खुमलटार पुग्नुभएको थियो ।

यता बालुवाटारमा हिजै साँझ प्रधानमन्त्री देउवा  र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच केहीबेर कुराकानी भएको बताइन्छ । उहाँहरुबीच साँझ सवा ६ बजेदेखि करिब १५ मीनेट भागबण्डावारे कडिकडाउ कुराकानी भएको खुमलटार स्रोतले पुष्टि गरेको छ ।

टिप्पणीहरू