डिएसपीकी मेयर पत्नीको दबदबा
पत्रकार अपहरणको आरोपमा मुछिएकी कैलालीको लम्किचुहा नगरपालिकाकी मेयर सुशीला शाहीको अन्य थुप्रै अवैध धन्दा रहेको पाइएको छ । सशस्त्र प्रहरी डिएसपीकी श्रीमती उनले न्युज २४ टेलिभिजनका सुदूरपश्चिम प्रदेश ब्युरो सम्बद्ध प्रेस चौतारी नेपालका प्रदेश कमिटी सदस्य खेम ढुंगानालाई बन्धक बनाएकी थिइन् ।
सरकारी सवारी साधन दुरूपयोग गरी घर निर्माणको काममा प्रयोग गरिरहेको भिडियो खिचिरहेका ढुंगानालाई उनले हातपात गर्दै दुई घण्टासम्म होटलमा बन्धक बनाएको बताइन्छ । नगरपालिकाका १० जनै वडाध्यक्षलाई उनले साढे ४ लाख पर्ने मोटरसाइकल आफ्नै शोरुमबाट किनाएर बाँडेकी थिइन् ।
नगरपालिकाको बजेटमा उनले रजाइँ गरेको आरोप स्थानीयले लगाएका थिए । नगरपालिकाले मोटरसाइकल खरिद गर्न ४५ लाख रूपैयाँ खर्च गरेको थियो । मेयर र उनका श्रीमान् गणेश शाह मिलेर हुण्डी कारोबारलगायत धेरै गैरकानुनी कार्य गर्दै आएको स्रोत बताउँछ ।
कैलालीको वनबेहडामा कार्यरत सशस्त्र डिएसपी शाह र मेयर शाहीलाई प्रधानमन्त्री पत्नी आरजु राणाको कृपा छ । यिनीहरूले मिटरब्याजमा पैसा लगानी गरेका छन् । आम निर्वाचनमा बझा¨ खटाइएका उनी डडेल्धुराबाटै फिर्ता भएका थिए । आफूले जे गरेपनि प्रधानमन्त्री पत्नी आरजुले जोगाउने मनशाय उनीहरूमा देखिन्छ । एकातिर श्रीमती पत्रकारलाई बन्धक बनाउने, अर्कोतिर श्रीमान् नचाहिँदो काम गर्ने । उनको यस्तै क्रियाकलापका कारण स्थानीयले उनको विरोधमा हल्चोकमा उजुरी दिएका थिए । उनीमाथि लागेको आरोपको विषयमा बुझ्न खोज्दा मेयर शाहीको फोन उठेन ।
उपमेयर जुना चौधरीले भने यसबारे नगरपालिकाको बैठक बस्न लागेको जानकारी दिइन् । ‘यथार्थ घटना के रहेछ बुझ्न बैठक राखेका छौं’, उनले भनिन्, ‘मेयर पनि बैठकमा उपस्थित हुने कुरा छ, हामी उहाँसँग सोध्छौं ।’
टिप्पणीहरू