दुलही नपाएपछि युवाहरु आन्दोलित, घोडीमा चढेर र्याली

दुलही नपाएपछि युवाहरु आन्दोलित, घोडीमा चढेर र्याली

‘उमेर पुगिसक्यो विवाह हुँदैन ! सोलापुरमा जल्दाबल्दा कैयौँ युवा छन् । तर बिहे गर्नका लागि युवती पाउनै मुश्किल छ । कहाँ जाने, कोसँग माग्ने–छोरी ? महिला–पुरुषको अनुपात घट्यो ? जताततै केटा छन्, केटी भेटिँदैनन् ।’

तीन–चार वर्षदेखि भारतको महाराष्ट्र राज्यस्थित सोलापुर जिल्लाका सयौँ युवा एउटा तनाब बोकेर बाँचिरहेका छन् । उनीहरू दिक्क भएपछि अब बोल्न थालेका छन््, ‘केटी पाउनै गाह्रो भो । बिहे कसरी गर्ने, कोसँग गर्ने ?

जिल्लामा युवती नभेटिएको भन्दै बिहे नगरेका ती युवाले बुधबार अनौठो खालको आन्दोलन गरेका छन् । दुलाहाको पहिरनमा सजिएका उनीहरूले घोडीमा चढेर गीत–संगीतसहितको र्याली निकाले । विवाहका लागि युवतीको खोजी गर्दा पनि नभेटिएको उनीहरूको गुनासो छ ।

राज्यमा दिनानुदिन महिलाको संख्या घट्दै गएको छ । सोही कारण उनीहरू बिहे नगरेरै मर्ने सम्भावना प्रवल छ । आन्दोलनरत युवाहरूले राज्य–अधिकारीसामु एउटा बिन्ती बिसाएका छन् । विवाहका लागि युवती नपाएको गुनासो गर्दै उनीहरूले राज्य सरकारसँग ‘बधु खोजिदिन सहयोग’ मागेका हुन् ।

युवाहरूले महिला र पुरुषको असमान अनुपातको मुद्दा पनि उठाएका छन् । अविवाहित समूहको पदयात्रा ज्योति क्रान्ति परिषद्ले आयोजना गरेको हो ।

अविवाहितहरुको आन्दोलनबारे कतिपयले खिल्ली उडाए पनि ‘सत्य–कथा’ देखाइएको संस्थापक रमेश बारस्करको दाबी छ । महाराष्ट्रमा पुरुषको तुलनामा महिलाको अनुपात घट्दै गइरहेकोप्रति उनले चिन्ता व्यक्त गरेका छन् ।

टिप्पणीहरू