भारतले ८५ हजार करोडको आधुनिक हतियार किन्ने

भारतले ८५ हजार करोडको आधुनिक हतियार किन्ने

भारतले आफ्नो सेनालाई आधुनिक हतियारले सुसज्जित बनाउने भएको छ । उसले ८५ हजार करोड रुपैयाँको हतियार किन्ने निर्णय गरेको छ । भारतीय रक्षा मन्त्रालयले सेनाका लागि आधुनिक हतियार किन्न उक्त रुपैयाँ विनियोजन गरेको छ ।

केन्द्रीय रक्षा मन्त्रालयले आधुनिक हतियार किन्न ८५ हजार करोड रुपैयाँ विनियोजन गरेको र रक्षामन्त्री राजनाथ सिंहको अध्यक्षतामा बसेको विशेष उच्चस्तरीय बैठकले अत्याधुनिक हतियार खरिद गर्ने प्रस्तावलाई स्वीकृत गरेको जानकारी दिइएको छ । ‘इन्फेन्ट्री कम्ब्याट भेहिकल’, लाइट ट्याङ्क र मिसाइल प्रणालीलगायत रक्षा प्रविधि र हतियार खरिद गर्न स्वीकृति दिइएको छ । 

भारत सरकारले सैन्य हतियारद्वारा सेनालाई सुसज्जित पारेर अन्य राष्ट्रलाई विशेष सन्देश दिन चाहेको रक्षा विश्लेषकहरुको भनाइ छ । एक भारतीय रक्षा विशेषज्ञकले भने, ‘जे पनि हुन्छ, हामी तयार छौं । यी हतियार खरिदको स्वीकृतिले शत्रुको क्याम्पमा दबाब सिर्जना गर्ने छ ।’

रक्षा मन्त्रालय स्रोतका अनुसार मन्त्री राजनाथ सिंहको नेतृत्वमा ‘रक्षा अधिग्रहण परिषद्’को बैठकमा हतियार खरिदका लागि २४ वटा प्रस्तावमा छलफल भएको छ । ती प्रस्तावमध्ये छ वटा वायुसेना र अर्को छ वटा स्थल सेनाका हुन् । अन्य १० प्रस्ताव भारतीय नौसेना र दुई प्रस्ताव भारतीय तटरक्षक दलका हुन् ।

२४ मध्ये २१ वटा प्रस्तावमा स्वदेशी संस्थाबाट हतियार खरिद गर्ने निर्णय छ । स्वदेशी कम्पनीहरूबाट खरिद गरिने कूल हतियारको प्रस्तावित मूल्य ८२ हजार करोड हाराहारीको छ । त्यो कूल खरिदको ९७.४ प्रतिशत हो ।

टिप्पणीहरू