कहाँ छ जनताले मन बुझाउने ठाउँ ?
सत्ताको डोर समातेर हिँड्छु भन्ने, सरकारको नेतृत्व गर्छु भन्ने तर नातावादले घेरिएर सदैव आलोचित भइरहने । यतिखेर कांग्रेस सभापति शेरबहादुर देउवा यस्तै यस्तै आरोपको सामना गर्दै हुनुहुन्छ । फरक–फरक विचारधारा बोकेका दलहरूको नेतृत्व लिनको लागि अलिक फरक ढंगको सोच र कार्यशैली अपनाउन आवश्यक हुन्छ । तर, त्यस्तो कसैमा देखिन्न । जसरी पनि प्रधानमन्त्रीको कुर्सी मुख्य ध्येय र कमाउने धन्दालाई निरन्तरता दिने चाल पहिलो प्राथमिकता ।
गठबन्धनको औचित्य त्यसबेला सावित हुन्छ जब प्रतिगमनलाई परास्त गर्न कुनै पनि मूल्य चुकाउन साझेदारहरू तयार हुन्छन् । तर, अहिलेको चुनावी नतिजाले गर्दा गठबन्धन कम्फर्टेबल छैन । अझै सहकार्य र सहअस्तित्व आवश्यक छ भन्दै एक अर्कालाई हैसियत सम्झाइँदैछ । २३ सिट भएको कांग्रेसलाई माओवादी केन्द्रले नेतृत्व सुम्पेकै हो किनभने त्यसबेला समयले संसद विघटनको विकल्प मागेको थियो । यो कुरा कांग्रेसले बिर्सेजस्तो देखिन्छ । उतिबेला किस्तीमा राखेर किन प्रधानमन्त्री दिएको भनी उल्टै प्रतिप्रश्न गर्ने केही कांग्रेसी छन् । उनीहरूले अहिलेको चुनावी नतिजा र यसले देखाएको सत्ता समिकरणको संकेतलाई बुझ्नै सकिरहेका छैनन् ।
कांग्रेस सभापति देउवा सत्ताको बागडोर सम्हाल्न रहर त गर्ने तर कुनै स्पष्ट भिजन दिन नसक्ने पात्रका रुपमा चिनिनुहुन्छ । उहाँको भिजन श्रीमती आरजु देउवा र परिवार निकटका मानिसलाई स्थापित गर्नुहोला । तर, यसले त देश र जनतालाई कुनै फाइदा हुँदैन । कांग्रेसको इतिहासमा परिवारवादले निकै राम्रोसँग जरा गाडेको देखिन्छ । सक्षम नभए पनि त्यसैको निरन्तरताका रूपमा कोइरालाहरू पनि देखिन्छन् । यो स्वाभाविक पनि हो । किनभने राजनीति बुझेकैले राजनीति गर्ने हो । सर्वसाधारणले राजनीतिलाई भोटसँग दाँजेर बुझ्नुबाहेक अर्थोक केही गर्दैनन् भन्ने मान्यता छ । तर चुनावी नतिजाले यो कुरालाई पनि हावा खुवाएको छ ।
किनभने गठबन्धन गर्दैमा अमूक दल र त्यसको नेताले चाहेजस्तो अभिमत प्राप्त गर्न सक्दा रहेनछन् । त्यसका लागि जनताको मन जित्नुपर्ने रहेछ । तर, नेताहरू मन जित्ने होइन मन अमिल्याउने काम गर्नमै उद्यत देखिन्छन् । राजनीतिमा इमान नामको चिज पनि हुन्छ भन्ने मान्यता राख्ने हो भने जनताले दिएको अभिमतलाई कदर गर्न अग्रसर हुनैपर्छ । ५ दले गठबन्धन र ७ दले गठबन्धनको नेतृत्व गर्ने कांग्रेस र एमालेले अभिमतको कदर गर्नुपर्छ । तर समानुपातिकमा सच्याइएको सूची अनि माननीयको मुहार हेर्दा दल र तिनका नेताहरूबाट जनता निराश छन् । यो दल र नेताको सुदूर भविष्यको निम्ति निकै घातक संकेत हो । किनभने फेरि पनि घरवालीदेखि बाहरवालीसम्म माननीय भएको चर्चा छ ।
फरियाको देखि सरियाको नातासम्म माननीयको सूचीमा दर्ज छ । यसले दल र नेताको कद निरन्तर घटाउँदो छ । नयाँ विकल्पको खोजीमा जनतालाई हिँडाउँदो छ । अब पनि नसच्चिने हो भने, सत्ता सञ्चालनका लागि योग्य आफ्ना परिवारका सदस्य र आसेपासेलाई मात्रै देख्ने हो भने गम्भीर संकट आई लाग्नसक्छ । त्यसैले जनमतको कदर गर्नु नै दल र तिनका नेताको लागि सबैभन्दा उत्तम अवसर हो । व्यवहार हो । किनभने जनताको निम्ति काम गर्ने दलहरू वैचारिक मतभेदलाई थाती राखेर गठबन्धनको संस्कृतिलाई हुर्काउँदै छन् । यो देश र जनताको लागि सकारात्मक सन्देश हुनुपर्ने हो । तर सत्तामा गएर बाँडिचुडी खाने व्यवस्थाको रूपमा रूपान्तर हुनु लाजमर्दो ठानिन्छ ।
हिजो जे एजेण्डामा जनतासामु त्यसलाई चटक्क बिर्सेर अन्तैतिर लहसिनु भनेको राजनीतिक बेइमानी हो, जनताको अभिमतको अवहेलना पनि हो । तसर्थ मेरो र तेरो भन्दै भागबण्डामा अल्झिनुभन्दा हाम्रोलाई राम्रो भन्नुको बदला राम्रोलाई हाम्रो भन्ने वातावरण सिर्जना गर्नु सबैको लागि हितकर हुन्छ ।
टिप्पणीहरू