आगलागी नियन्त्रण गर्न दमकल स्टेसन थप्दै काठमाडौँ महानगर
काठमाडौँ महानगरपालिकाले आगलागी नियन्त्रणलाई थप प्रभावकारी बनाउन दमकल स्टेसन थप्ने भएको छ ।
महानगरपालिकाको विपद् व्यवस्थापन विभागका निर्देशक रविनमान श्रेष्ठले नगरभित्र आगलागी हुँदा तुरुन्त दमकल पुगी नियन्त्रण गर्न र त्यसबाट हुने क्षतिबाट जोगिनका लागि दमकल स्टेसन थप्न लागेको बताए । उनले भने,‘यो वर्ष मात्रै हामीले ३ वटा दमकल स्टेसन थप्दै छौँ ।'
जसमध्ये बालाजुको दमकल स्टेसन बिहीबारबाट सञ्चालनमा आइसकेको उनले जानकारी दिए । अब रामहिटी र न्यूरोडमा पनि छिटै दुई वटा स्टेसन थप्ने श्रेष्ठले बताए ।
बालाजु स्टेसनमा अहिले दुई वटा दमकल र दुई वटा फायर मोटरसाइकल रहेको छ । तर, थप तीन ओटा स्टेसनसहित महानगरसँग ७ वटा दमकल स्टेसन तयारी अवस्थामा रहेको उनले जानकारी गराए ।
नयाँ दमकल, भप्याङ, फायर मोटरसाइकल जस्ता अग्नि नियन्त्रणका साधनहरु खरिद गर्न महानगर तयारी अवस्थामा रहेको बताउँदै उनले बल्खुमा पनि यही वर्ष दमकल स्टेसन निर्माण हुने बताए ।
टिप्पणीहरू