सरकारको निर्देशन मान्दै बिजुलीको लाइन नकाट्ने निर्णय
नेपाल विद्युत प्राधिकरणले बक्यौता रकम तिर्न बाँकी रहेका उद्योगहरुमा तत्काल लाइन नकाट्ने भएको छ ।
आज बसेको सञ्चालक समितिको बैठकले उद्योगहरुको लाइन नकाटीकनै बक्यौता रकम उठाउने विद्युत नियमन आयोगको निर्देशनलाई कार्यान्वयन गर्ने निर्णय गरेको हो । कात्तिक २५ गते बसेको क्याविनेट बैठकले विद्युत काटिएका उद्योगहरुमा तत्काल लाइन जोड्न र १५ दिनभित्र बक्यौता रकम उठाउन प्राधिकरणलाई निर्देशन दिएको थियो ।
त्यसको दुई दिनपछि बसेको सञ्चालक समितिको बैठकले सरकारको निर्देशन कार्यान्वयन गर्ने निर्णय गर्दै सोही रात उद्योगहरुमा लाइन जोडेकाे थियो । भोलिपल्ट प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन गरेर १५ दिनभित्र बक्यौता रकम नतिरे पुनः लाइन काटिने भन्दै उद्योग सञ्चालकहरुलाई सचेत समेत गराएका थिए ।
बक्याैता रकम तिर्न दिइएकाे १५ दिनको अवधि आज (बुधबार)बाट सकिएको छ । तर उद्योगहरुले भने बक्यौता रकम तिर्ने सुरसार गरेका छैनन् । पुनः उद्योगहरुको लाइन काट्ने तयारी गरेको पूर्वसुचना पाएपछि विद्युत नियमन आयोगले हिजै प्राधिकरणलाई पत्र लेख्दै लाइन नकाट्न निर्देशन दिएको थियो ।
त्यसो त, आयोगको निर्देशन कार्यान्वयन सम्बन्धमा सञ्चालक समितिका सदस्यद्वय कपील आचार्य र भक्तबहादुर पुनले भने असहमति जनाएको बताइन्छ । गत साउन ८ गते पनि उनीहरुले सरकारको निर्णयविरुद्ध नोट अफ डिसेन्ट लेखेका थिए । जसकारण सरकारले दुवै जनालाई सञ्चालक समिति सदस्यबाट हटाउने निर्णय गरेकोमा सर्वोच्च अदालतको अन्तरिम आदेशको कारण जोगिएका थिए ।
टिप्पणीहरू