कार्य वातावरण चम्काउन नसकेको आरोप उपसचिवमाथि

कार्य वातावरण चम्काउन नसकेको आरोप उपसचिवमाथि

काठमाडौँको ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयको कार्य वातावरण केही कर्मचारीका कारण बिथोलिएको गुनासो सुनिएको छ । ‘माथिको पहुँच’ देखाएर कार्यालय प्रमुखलाई टेरपुच्छर नलगाउने प्रवृत्ति बढ्दै जाँदा यस्तो अवस्था आएको बताइन्छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका पदाधिकारीलाई ‘रिझाएर’ उक्त कार्यालय पुगेका केही कर्मचारी ‘अनुशासनमा बस्न’ आनाकानी गरेपछि असहजताको वातावरण बनेको स्रोत बताउँछ । 

उनीहरुले मन्त्री र सचिवको नाम लिँदै आफूलाई कर्मचारी संगठनको नेता दावी गर्ने र कार्यालय प्रमुखलाई समेत असहयोग गरिरहेको अवस्था छ । गत कात्तिकमा त्यहाँबाट सरुवा भएका निमित्त प्रमुख उपसचिव राजकुमार राईले ‘कन्ट्रोल’ गर्न नसकेपछि स्थिति बिग्रिएको र अहिलेसम्म त्यसको प्रभाव कायमै रहेको बताइन्छ । 

मालदार अड्डा मानिने वैदेशिक रोजगारीमा आउन कर्मचारीबीच हानथाप हुने गरेको विषय नौलो होइन । तर, पछिल्लो समय ‘धाकधक्कु लगाउन’ सक्नेहरुले मात्र उक्त कार्यालयमा ठाउँ पाइरहेका छन् । पहुँच र प्रभावका आधारमा सरुवा मिलाएर रोजेको कार्यालय जाने र घुमिफिरी श्रममै फर्किनेहरुको पनि कमि देखिँदैन । 

त्यस्ता कर्मचारीहरुले उद्योग विभाग, कम्पनी रजिस्ट्रार, मालपोत, अध्यागमन, सिडियो कार्यालयलगायत अड्डाहरुमा गएर ‘खेतीपाती गर्ने’ र पुनः श्रम मन्त्रालयमै फर्किने अवस्था पनि विद्यमान छ । वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले यसअघिका निमित्त कार्यालय प्रमुख उपसचिव राजकुमार राईले कार्यालयमा कमाण्ड गर्न नसकेपछि सरुवा गरिएको जनाए । हाल जिम्मेवारीमा आएका श्रीधर केसीले स्थितिलाई आफ्नो काबुमा लिनसक्ने आशा उनको छ ।

टिप्पणीहरू