'तपाईँको मास्क खोइ ?' अभियान पुनः सुरु

'तपाईँको मास्क खोइ ?' अभियान पुनः सुरु

काठमाडौँ  उपत्यका ट्राफिक प्रहरी कार्यालयले 'तपाईँको मास्क खोइ ?' चेतनामूलक अभियान पुनः सुरु गरेको छ । 

उपत्यकाको विभिन्न स्थानमा आजदेखि ट्राफिक प्रहरीहरु 'मास्क खोइ' लेखिएका प्लेकार्ड बोकेर सडकमा खटिएका छन् । छिमेकी मुलुक भारतलगायत विभिन्न देशमा कोरोना संक्रमितको संख्या बढेलगत्तै यसको असर नेपालमा पर्न नदिन वा समयमै नागरिकलाई सचेत गराउन उक्त अभियान सुचारु गरिएको कार्यालयले जनाएको छ । 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले नागरिकलाई समयमै कोरोना सम्भावित जोखिमबाट सचेत गराउन उक्त अभियान पुनः सुरु गरिएको जानकारी गराए । 

उनले भने,‘पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या घटेलगत्तै मानिसहरुले मास्क लगाउन छोडिसकेका छन् । छिमेकी मुलुक भारत, चीनलगायत विभिन्न देशमा कोरोना भाइरसको नयाँ प्रजाति देखिनुका साथसाथै दिनहुँ कोरोना संक्रमितको संख्या बढिरहेको छ । त्यसैले, पनि हामीले मास्क अनिवार्य प्रयोग गरौँ वा मास्क प्रयोग गर्न नबिसौँ भनेर चेतनाका लागि उपत्यकाका विभिन्न स्थानमा प्लेकार्डको प्रयोग गर्न थालेका हौँ ।’

नेपालमा कोरोना संक्रमितको संख्या घट्दो क्रममा रहेतापनि यसको जोखिम अहिलेपनि उच्च रहेकाले सबै नागरिकलाई अनिवार्य रुपमा मास्कको प्रयोग गर्न प्रवक्ता भट्टले आग्रह गरे । 

यसअघि पनि ट्राफिक प्रहरीले कोरोना नियन्त्रणका लागि अनिवार्य रुपमा मास्क प्रयोग गर्न र मास्क प्रयोग नगरेमा जरिवानासहित कारबाही गर्ने गरेको थियो । तर बिचमा कोरोना संक्रमितको संख्या घटेलगत्तै यसलाई बेवास्ता गरिएको थियो ।

टिप्पणीहरू