स्वीकृति नलिई शैक्षिक मेला गर्न नपाइने
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पूर्वस्वीकृति नलिई शैक्षिक मेला वा प्रदर्शनी नगर्न कडा निर्देशन दिएको छ । मन्त्रालयको उच्च शिक्षा महाशाखा, शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाले पूर्वस्वीकृति नलिई कार्यक्रम नगर्न निर्देशन गरेको हो ।
केही संस्था, व्यवसायी र शैक्षिक परामर्शदाता संस्थाले स्वीकृति नलिई शैक्षिक मेला आयोजना गर्ने, अपुष्ट सूचना सामग्री राखेर मेलाको प्रचार गर्ने गरेको गुनासो बढेपछि यस्तो निर्देशन दिएको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
मन्त्रालयले स्वीकृति नलिई त्यस्ता कार्यक्रम आयोजना र कार्यक्रमसम्बन्धी कुनै मिडियाबाट प्रचारप्रसार नगर्न–नगराउन पनि भनेको छ ।
त्यस्तै, शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३ ले स्वदेशी तथा विदेशी संस्थाले शैक्षिक मेला वा प्रदर्शनीको आयोजना गर्दा मन्त्रालयबाट स्वीकृति लिनुपर्ने व्यवस्था भएको स्मरणसमेत गराइएको छ ।
साथै, नियमविपरीत शैक्षिक मेला आयोजना गरेको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही गरिने चेतावनी दिइएको छ ।
टिप्पणीहरू