पुसको जाडो र छाप्रोको पढाइ

पुसको जाडो र छाप्रोको पढाइ Pic: Narendra Singh Karki

बाढीले विद्यालयमा क्षति पुगेपछि दार्चुलाका विद्यार्थी हिउँदको चिसोमा छाप्रोमा अध्ययन गर्न बाध्य छन् । महाकाली नगरपालिका २ पन्डोरास्थित भुवनेश्वरी आधारभूत विद्यालयको भवन बगाएपछि विद्यार्थीहरुले चार महिनादेखि छाप्रोमा अध्ययन गरिरहेका हुन् ।

भवन नहुँदा विद्यार्थीकासाथै शिक्षकहरुलाई समेत समस्या परेको छ । अहिले छाप्रोमा खानेपानी र शौचालय दुबैको अभाव छ । शौचालय प्रयोग गर्न टाढासम्म धाउनुपर्ने बाध्यता छ । गत भदौ २४ गते आएको बाढीले थुप्रै घरसँगै विद्यालयसमेत बगाएको थियो ।

बाढीले विद्यालयमा क्षति पुर्याएपछि विद्यार्थीहरुको पठनपाठन प्रभावित भएको हो । छाप्रो गतिलो नहुँदा अधिकांश समय विद्यार्थीहरु चौरमै बसेर पढ्ने गरेको बताइन्छ । भदौदेखि उनीहरु घाम र चिसो सहेर अध्ययन गरिरहेका छन् । 

बाढीले सबै तहसनहस पारेपछि त्यतिबेला विद्यालय एक साताका लागि बन्द गरिएको थियो । तर, थप बन्द गर्दा विद्यार्थीहरुको पढाइमा असर पर्ने देखिएपछि शिक्षकहरुले विकल्पका रुपमा छाप्रो निर्माण गरेका छन् । 

शुरुका दिनमा खाली चौरमै पठनपाठन गरिएको एक शिक्षकले बताए । ‘पहिले त टेन्टबिना खुला आकाशमा पढाइ शुरु गरेका थियौं । तर, पछि नगरपालिकाको सहयोगमा टेण्ट हालेका हौं’, उनले भने । 

अहिले पनि विद्यार्थीहरु भुँईंमा पाल ओछ्याएर लेखपढ गरिरहेका छन् । भुईंको चिसोको कारण धेरै जना विद्यार्थी बिरामी भएको प्रधानाध्यापक माधवराज भट्टले बताए । भवन नभए पनि विद्यार्थीको पढाइमा व्यवधान आउन नदिने उनको दाबी छ ।

उनले भने, ‘भवन नहुँदा सबै खालको जोखिम बढेको छ । तर अहिलेसम्म भवनको टुंगो लागेको छैन । भवन नबन्दासम्म विद्यार्थीले यसरी नै जोखिम मोल्नुपर्ने देखिएको छ ।’

शिशु कक्षादेखि पाँच कक्षासम्म पढाइ हुने विद्यालयमा कूल ३४ विद्यार्थी छन् । विद्यालयमा चार जना शिक्षक,शिक्षिका कार्यरत छन् । विद्यार्थीलाई चौरमा पढाउँदा विभिन्न समस्या देखिन थालेको तिनको गुनासो छ । 

भदौ २९ गते भवन निर्माणका लागि विद्यालयले नगरपालिकासँग लिखित माग गरेको थियो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट नगरपालिकाको शिक्षा शाखामा भवन निर्माणको पत्र पुगे पनि काम अघि बढ्न सकेको छैन ।

लामो समयसम्म विद्यालय भवन निर्माण प्रक्रिया अघि नबढेकोमा शिक्षकहरु पनि चिन्तित देखिएका छन् । ‘अहिलेसम्म जसोतसो नगरको सहयोगमा पाइएको टेण्टले काम चलाइरहेका छौं । तर कहिलेसम्म ? पानी चुहिँदा पढाउन निकै गाह्रो भइरहेको छ’, शिक्षिका पार्वती बडुले भनिन् । 

उनले भवन अभावको असर विद्यार्थीको पढाइमा समेत देखिएको बताइन् । भवन नहुँदा विद्यार्थीहरु भुईंमा बसेर पढ्न र शिक्षकहरु चिसोमा उभिएर पढाउन बाध्य छन् । ‘कतिञ्जेल यसरी विद्यार्थीलाई चिसो भुईंमा पढाउन सकिएला र ?’ उनले नगरपालिकामाथि आक्रोश पोख्दै भनिन्, ‘विद्यालयका सामान राख्न महिनाको छ हजारमा एउटा पसल भाडामा लिइएको छ । तर पनि भवन निर्माणको कुनै प्रक्रिया अघि बढाइएको छैन । कसैले पनि यसतर्फ चासो दिएको देखिँदैन ।’

टिप्पणीहरू