बोर्डरमा समातिएको शंकास्पद कालोधुलोले प्रहरी हैरानीमा

बोर्डरमा समातिएको शंकास्पद कालोधुलोले प्रहरी हैरानीमा – सन्तोष बराइली

अस्ति बुधवार सुरक्षाकर्मीको संयुक्त टोलीले विशेष सूचनाको आधारमा तीन ठाउँमा छापा मारेर अगरबत्तिमा प्रयोग हुने भनिएको कालोधुलोको ठूलो परिमाण नियन्त्रणमा लियो । नेपाल–भारत सीमाको दश गजासँग जोडिएको नवराजपुर गाउँपालिका– ५ मा पर्ने मेनाहाको दुई ठाउँ र झाँझपटीबाट नियन्त्रणमा लिइएको उक्त कालोधुलो ठाँडी र माडर भन्सारमा राखिएको छ । 

करिब २७ लाख रूपैयाँ बराबर मूल्य पर्ने भनिएको बोर्डर छेउबाट नियन्त्रणमा लिइएको कालोधुलो शंकास्पद देखिएपछि प्रहरीले चेकजाँचको लागि ल्याबमा पठाएको ठाडी भन्सारका प्रमुख ध्रुवकुमार कोइरीले जानकारी दिएका छन् । उनका अनुसार शंकास्पद कालोधुलोले जिल्लाको प्रहरी प्रशासन मात्रै नभएर भन्सारका कर्मचारीलाई पनि अचम्मित तुल्याएको छ । 

प्रमुख कोइरी भन्छन्, ‘हेर्दा अगरबत्तिमा प्रयोग हुने मसलाजस्तो देखिन्छ,बम बारूदमा प्रयोग हुने जस्तो पनि देखिन्छ । चेकजाँचका लागि प्रहरीले काठमाडौं ल्याबमा पठाएको छ ।’ सशस्त्र प्रहरी बल सिराहाका एसपी रमेश थापाले अगरबत्तिमा प्रयोग हुने भनिएको कालोधुलोबारे ठाडी भन्सारमा प्रतिवेदन बुझाएका छन् । ‘उक्त कालो धुलो ठ्याक्कै यही हो भनेर भन्न सकिएको छैन,’एसपी थापाले जनआस्थासँग भने ।

उनका अनुसार नवराजपुर ५ स्थित सञ्जय महतो,विनोदकुमार यादव र शिवनारायण यादवको घरबाट कालोधुलो प्रहरीले नियन्त्रणमा लिएको हो । त्योसँगै कारोबारमा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको बताइएको छ । कालोधुलो नियन्त्रणमा लिइरहँदा स्थानीय र सुरक्षाकर्मीबीच झडपको अवस्था सिर्जना भएको थियो । सिराहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले उक्त धुलो अगरबत्तीको मसला हुनसक्ने बताउँदै भने, ‘बोरामा भियतनाम उल्लेख गरिएको कालोधुलो बिराटनगरबाट भ्याट बिल काटेर ल्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’

जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी अर्जुन तिमल्सिनाले उक्त धुलो चेकजाँचका लागि जिल्ला वन कार्यालयमा पठाइएको जानकारी दिए ।  चेकजाँचको रिपोर्ट आएपछि थप अनुसन्धान अघि बढाइने उनको भनाइ छ । बताइएअनुसार विनोदकुमार यादवको घरबाट नियन्त्रणमा लिइएको कालोधुलो बिराटनगर ११ को सन्ध्या ट्रेड लिंकबाट खरिद गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बतायो ।

 

टिप्पणीहरू