राजनीतिमा देवत्वकरण र राक्षसीकरण
अब कुनै पनि नेताको देवत्वकरण वा राक्षसीकरण गर्ने काम शुरु हुन सक्छ । एकअर्कालाई हिलो छ्यापाछ्याप हुन सक्छ । विशेष गरी नेपाली कांग्रेस छत्तिसे र चौहत्तरे भनेजस्तै ६४ र २५ बीच यस्तो प्रक्रियाबाट गुज्रिने सम्भावना बलियो छ । माओवादी केन्द्रको कार्यकर्ता पंक्तिलाई त हाम्रो प्रचण्ड कामरेडसँग कसैको केही लाग्दैन भन्ने सावित भएको छ भन्दै देवत्वकरण गरेर रम्ने अवसर पनि देखा परेको छ ।
वस्तुगत स्थितिको अध्ययन र विश्लेषण गर्दै कुनै खास निचोडमा पुग्नुभन्दा नेतालाई सहज रूपमा देवत्वकरण गर्दा नै फाइदा हुने भएकोले उनको खुबीलाई दैवी गुणको रूपमा व्याख्या गरियो भने अतिशयोक्ति मान्न नपर्ने बेला हो यो । यसैगरी नेपाली कांग्रेसका अध्यक्ष शेरबहादुर देउवालाई एकथरीले राक्षस बनाउने र अर्कोथरीले विचरा भन्दै सहानुभूति पोख्ने होडबाजी पनि शुरु हुन थालेको छ । सत्ता गुम्नुको पीडा वा देउवालाई असफल बनाएको अवस्थामा पनि खुलेर हाँस्न नसक्नेहरुबीच तिक्तता झनै बढेर जाने पक्का छ ।
राजनीतिमा जे हुनु पथ्र्यो त्यो भइरहेको छैन जे नहुनुपथ्र्यो त्यहीचाहिँ भइरहेको छ । जहाँ खोला छैन, त्यहाँ पुल निर्माण गर्छु भनेर जनतालाई विश्वास दिलाउने खुबी भएकाहरू नैं नेता हुन सक्छन् भन्ने कुरा पुष्टि हुँदैछ । त्यसो त राजनीतिमा असम्भव केही छैन भन्ने कुराको पनि पुष्ट्याइँ भई सकेको छ । एकाध घण्टा अघिसम्म एकअर्काको अनुहार हेर्न नपरोस् भनेर थुक्नेहरूले मुख चाटाचाट गरेको दृश्य सामान्य बन्न पुगेका छन् । के थरि गर्नेलाई भन्दा हेर्नेलाई लाज लाग्ने वातावरण तयार भएको छ । तर पनि राजनीति चलिरहेकै छ ।
राणा र राजाका शासनकालमा राजा त ठीक थिए तर तिनका आसेपासे र भाइभारदारहरू बेठीक भएकोले यस्तो दुर्दशा खेप्नुपरेको आरोप लगाइँदै आएजस्तै ओली, देउवा, प्रचण्ड ठीक थिए तर यिनका आसेपासे, नातेदार भाइभारदारहरू बेठीक हुन् भन्ने दिन पनि अहिले आएकै छ । यस्तो आरोप र प्रत्यारोपले झनै तिक्तता बढाउनेछ । हिजो नेकपा विभाजनका निम्ति को दोषी थिए भनेर एक अर्कालाई शत्रुवत व्यवहार गर्दै सुदूर भविष्यलाई नष्ट गर्नेतर्फ कोही लाग्नु हुँदैन ।
हिजो नेकपाबाट माओवादी केन्द्र र एमालेबाट एकीकृत समाजवादी बन्यो, अहिले नेकपा फुटेर बनेको माओवादीले एमालेको समर्थनमा सत्ताको बागडोर समातेको छ । त्यसै धारबाट अलग्गिएको एस अहिले बाहिर छ । तर एकअर्कालाई धारेहात लगाउँदै ‘यो नौटंकी नै हो, नाटकै हो’ भन्नेहरू एकै ठाउँमा आउन सक्छन् भन्ने उदाहरणले राजनीतिमा जे पनि सम्भव हुन्छ भन्ने कुरालाई पुनः पुष्टि गरेको छ । यसैले फुटेका वामपन्थी पुनः एक ठाउँमा जोडिन सक्छन्, एकीकृत पार्टी निर्माण गरेर आन्दोलनलाई नयाँ उँचाइमा पु¥याउन सक्छन् भनेर देखाउने मौका छ ।
अनि मात्र देश र जनताको वृहत्तर हितका लागि एकजुट भएर काम गर्न सक्ने वातावरण बन्छ । अन्यथा दक्षिणपन्थी र संशोधनवादीको गोटी चालको शिकार हुने सम्भावना झन बढेर जान्छ । त्यसो त वामपन्थीहरू भात पकाएर खाने बेलामा घोप्ट्याउने गर्छन् भन्ने कथन छ । तर यसपल्ट कांग्रेसले पनि खाने बेला थालै घोप्टाएको दृश्य मञ्चन भएको छ । यसले राजनीतिमा के हुन्छ ? के हुँदैन ? भन्ने कुरा यकिन गर्न निकै अप्ठ्यारो छ । विचार र सिद्धान्त एकातिर, व्यवहार अर्कोतिर देखिएपछि समस्या जहाँ पनि पैदा हुने हो । तर उब्जेको समस्यालाई हल गर्न सक्ने तत्परता भने देखाउनु पर्छ ।
ओलीले प्रतिगमनको मूल्य चुकाए र अहिले आएर त्यसको पूर्ति गरेका छन् । हिजो नेकपा हुँदा प्रचण्डलाई प्रधानमन्त्री स्वीकार गर्न नसक्ने उनले आज किस्तीमा राखेर उक्त पद बुझाएका छन् । राजनीतिमा देखिने इमान्दारी र बेइमानीको खेल सामान्य जनताले पनि हेरेका हुन्छन् भन्ने कुरा अबका नेताहरूले बुझ्नुपर्छ । र, त्यसैअनुरूप बिग्रेको परिस्थितिलाई सच्याउन अघि सर्नुपर्छ ।
टिप्पणीहरू