पाटन दरबार एरियाभित्र आइतबारदेखि कडाई

पाटन दरबार एरियाभित्र आइतबारदेखि कडाई

ललितपुर महानगरपालिकाले विश्व सम्पदा सूचीकृत पाटन दरबार स्क्वायर क्षेत्रभित्र कडाई गर्ने भएको छ । महानगरले विभिन्न क्रियाकलापमा रोक लगाउने निर्णय गरेको हो ।

महानगरले आइतबारदेखि पाटन दरबार एरियाभित्र अनुमतिबिना कुनै पनि कार्यक्रम गर्न रोक लगाएको छ । ऐतिहासिक, सांस्कृतिक सम्पदा संरक्षण गर्नका लागि महानगरले दरबार एरियाभित्र ध्रुमपान तथा मद्यपानदेखि लिएर बिना स्वीकृति कुनै पनि कार्यक्रम सञ्चालन गर्न निषेध गरेको हो । 

त्यस्तै, दरबार क्षेत्रभित्र सवारी प्रवेशमा समेत प्रतिबन्ध लगाउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले बताए । म्यूजिक भिडियो तथा फोटो सुटिङ्ग गर्न, साईकल स्टण्ड गर्न, भिक माग्न, फुटपाथ पसल राख्न नपाइने उनको भनाइ छ । 

उच्छृङ्खल तरिकाका टिकटक र भिडियो बनाउन र तोकिएको समयपछि रातको समयमा दरबार परिसरमा घुम्न र बस्न पनि महानगरले रोक लगाउने भएको छ । यता, महानगरले पर्यटक गाइडका लागि ज्याकेटको व्यवस्थापनसमेत गर्ने निर्णय गरेको छ । 

‘गाइड हो भन्दै पर्यटकलाई दुःख दिने गरेको पाइयो’, अधिकृत अर्यालले भने,‘तसर्थ, गाइडका लागि ज्याकेटको व्यवस्थापन गर्ने निर्णय गरेका छौं । गाइडले पर्यटक होइन्, पर्यटकले गाइड खोजुन् भन्ने हाम्रो धारणा हो ।’

टिप्पणीहरू