भावी राष्ट्रपतिमा को संभाव्य ?
वर्तमान गठबन्धन सरकारको न्यूनतम नीति तथा कार्यक्रम बनाउने जिम्मा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले लिएको बेला राष्ट्रपति कसलाई बनाउने भन्ने हल्लाले बजार तातिएको छ । यस्तो बेला एमाले उपाध्यक्ष सुभाष नेम्बाङ, अष्टलक्ष्मी शाक्यसँगै सत्यनारायण मण्डलको नाम एमाले वृत्तमा चर्चित छ ।
एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले भने भावी राष्ट्रपतिबारे मुख खोलेका छैनन् । यसले गर्दा अड्कलबाजीको बजार छ । एक विश्लेषकका अनुसार अन्त्यमा ओलीले सुभाष नेम्वाङलाई अघि सार्ने सम्भावना छ । नेम्वाङले पाँचौं महाधिवेशनदेखि नै निरन्तर ओलीलाई साथ दिँदै आएका छन् भने ओलीलाई अप्ठ्यारो पर्ने कुरा सत्य भए पनि मौन बसेर समर्थन गर्ने बानीको विकास गरेका छन् । त्यसो त अध्यक्ष ओलीले लिम्बूवान क्षेत्रबाटै प्रतिनिधित्व गर्दै आएका छन् ।
अर्कोतर्फ भोलि प्रचण्डले एमाले र अध्यक्ष ओलीलाई अप्ठ्यारोमा नपार्लान् भन्ने अवस्था छैन । त्यस्तो अवस्थामा एसम्यानका रूपमा सुभाष नेम्वाङबाहेक अरु विकल्प भरपर्दा छैनन् । बीचैमा प्रचण्ड, माधव र शेरबहादुर देउवा मिलेर ओलीविरुद्ध चक्रब्यूह नरच्लान् भन्न सकिने अवस्था पनि छैन । अहिलेसम्म जनजातिबाट कसैले सो पद नपाएकाले गर्दा पनि नेम्बाङ राष्ट्रपतिको दौडमा अघि देखिएका हुन् । अर्को उपयुक्त पात्रको रूपमा अष्टलक्ष्मी शाक्य पनि छिन् । तर, १० भाइका रूपमा चिनिएकी र ओलीको लाइनलाई क्रस गर्न सक्ने बानी परेकीले उनलाई राष्ट्रपति बनाउने सम्भावना निकै कम छ ।
सत्यनारायण मण्डलको नाम भने मधेशका कार्यकर्तालाई सान्त्वना दिन उछालिएको मात्र हुनसक्छ । मण्डलको व्यक्तित्व यी दुवैको तुलनामा निकै कम असरदार र मधेशीमूलका रामवरण यादव पहिलो राष्ट्रपति भइसकेकाले अहिले नै उनलाई ओलीले राष्ट्रपति बनाउने सम्भावना शुन्य बराबर रहेको बताइन्छ ।
भावी राष्ट्रपतिको चर्चामा ल्याइएको अर्काे भरपर्दो नाम वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीकै हो । तर, उनलाई राष्ट्रपति बनाउन संविधान संशोधन गर्नुपर्ने हुन्छ । संविधान संशोधनका लागि आवश्यक कसरत पनि थालिएको बताइन्छ । मौजुदा व्यवस्था व्याख्यात्मक टिप्पणी गर्ने तयारी पनि हुनसक्छ । त्यसमा पहिलो कार्यकालको २ वर्षे अल्पकालीन अवस्थालाई पूर्ण कार्यकाल नमानिने भन्दै पुनः भण्डारीलाई नै राष्ट्रपति बनाउने तयारीसमेत गरिन सक्छ ।
स्रोतका अनुसार भारतमा ७५ वर्ष बित्दा जम्माजम्मी दुई जना जीवित पूर्वराष्ट्रपति छन् भने नेपालमा डेढ दशक नबित्दै पूर्वराष्ट्रपतिहरूको संख्या दुई हुने भएकाले वर्तमान राष्ट्रपति भण्डारीलाई नैै निरन्तरता दिने तयारी गरिनसक्छ । यसले पार्टीभित्र देखिएको अनावश्यक लबिङ र गुटबन्दी रोकिने र धेरै समस्यालाई समाधान गर्न सहज हुने निश्कर्ष निकालिएको बताइन्छ ।
अहिले राष्ट्रपति भण्डारीलाई बिदा दिने हो भने सेवा सुविधा दिनुपर्ने हुन्छ– यसले गर्दा पूर्व राष्ट्रपतिहरूको संख्या र सेवा–सुविधामा फजुल खर्च वृद्धि हुने भएकाले भण्डारीलाई नै राष्ट्रपतिमा निरन्तरता दिने तयारीसमेत भएको बताइन्छ ।
टिप्पणीहरू