शुभकामना, कुरा होइन काम थालुन् !

शुभकामना, कुरा होइन काम थालुन् !

नेपाली जनता आश्वासनका पुलिन्दाहरूको भार थेग्नै नसक्ने अवस्थामा पुगेका छन् । ऋणभार चुलिएको छ । निर्यातभन्दा आयात हजारौं गुणा बढी छ । विकासको नाममा विनाश गर्ने, विनाश पनि केही कमिसनखोरलाई पाल्ने र पोस्ने गरी नियोजित रूपमा थालिएका छन् । देशको दक्ष जनशक्ति विदेश पलायन हुने क्रम रोकिएको छैन । खाडी मुलुकमा गएको श्रमशक्तिले पठाएको रेमिट्यान्स (विप्रेषण)ले मुलुकको अर्थतन्त्र थेगेको छ । तर, नेता र दलहरू भने यसो गर्छु, उसो गर्छु भनेर ढाँटको खेती गरिरहेका छन् । झुटको खेती राम्रैसँग फस्टाएर गएको देखिन्छ ।

तर, यस्तो खेतीका भरमा कुनै पनि दल र तिनका नेताले आउँदो दिनमा धेरैबेर भरथेग नगर्ने प्रष्ट छ । दल र तिनका नेतालाई चुनौती छ । यस्तो चुनौती बुझेर त्यसलाई समाधान गर्न कदम नचाल्ने हो भने राजनीति परिवर्तनका लागि वर्षौंवर्ष जेल भोगेर, सशस्त्र क्रान्ति गरेजस्ता उदाहरण फगत कुरा मात्रै हुनेछन्, कसैले पत्याउने छैनन् । हिजो कष्टमय राजनीति गरेकै आधारमा आजन्म ब्याज खाने ठान्दछन् कोही नेता भने तिनले भ्रम त्याग्नुपर्छ र कुरा होइन, काम गरेर जनताबीच आपूmलाई सावित गर्नुपर्छ । अन्यथा त्याग र बलिदानको इतिहास रटाएर मात्रै केही हुने अवस्थै छैन । यस्तो चेतना भए पनि फरक मान्यता, विचारधारा र कार्यशैलीका कारण अहिलेको गठबन्धन सरकारलाई निकै ठूलो चुनौती देखिन्छ । राजा ल्याउनेदेखि फाल्नेसम्म, सामाजिक सञ्जालमा नेतालाई गाली गर्दै नेता हुनेसम्म, वामपन्थीदेखि दक्षिणपन्थीसम्म मिलेर बनेको यो सरकार झन् जटिल जोडमा देखिन्छ । 

गालीगलौजको संस्कारबाट हुर्किएको एउटा पुस्ता जो आपूmलाई सर्वगुण सम्पन्न ठान्छ, पुरानो पुस्ता जो सत्तालाई आफ्नो पेवा मान्छ, तर्साएर आएको एउटा पुस्ता सत्ताबाहेक अर्थोकलाई भ्रम भन्ठान्छ, परम्परागतवादी पुस्ता जो गाडिएको मूर्दालाई जिउँदो तुल्याउँछु भन्दै प्रतिगमनको तावेदारी गर्छ । सोच्दै ल्याउँदा यो सरकार र सरकारमा बसेका दल र तिनका नेतालाई निकै सकस छ । किनभने एकअर्काका विचार र सिद्धान्त परस्पर विरोधी छन् । परस्परविरोधी देखिएको विचारबीच मध्यमार्गी विचार अघि ल्याउनुपर्ने हुन्छ । यसका लागि कमसेकम सरकारको नीति तथा कार्यक्रममा यी सबै कुरा समेटिन आवश्यक छ ।

तर, त्यस्तो होलाजस्तो देखिन्न । किनभने सरकारलाई समर्थन गर्नुअगावै अग्रगामी नभएर पश्चगामी निर्णय भएका छन् । विकासे मन्त्रालय माग्नेहरू एकाएक आफ्नो कमजोरी लुकाउने मनशायबाट प्रेरित भएर सलामी खाने मन्त्रीको झण्डा हल्लाउन पुगेका छन् । सरकारलाई समर्थन गर्ने तर पुस २७ गते पृथ्वीजयन्ती मनाउन बिदा नदिए फिर्ता लिने धम्कीका साथ राष्ट्रिय प्रजातन्त्र पार्टीले हलो अड्काएकै छ । हुँदाहुँदा नश्लीय सोचले ग्रस्त भएर रेशम फिलिलि भएको छ । 

समग्रमा यो सरकार काम होइन कुरा गर्न र गठबन्धनभित्रकै अन्तरविरोध व्यवस्थापन गर्न व्यस्त हुने सम्भावना बढ्दो छ । यस्तो बेला सरकारले एकादुई राम्रा काम गर्न थाल्यो भने आश्चर्य नै मान्नुपर्ने अवस्था छ । तर, जनता भने स्वाभाविक रूपमा सरकारले देश र जनताको हितमा काम गरोस् भन्ने चाहना राख्छन् । यो आकांक्षा अनौठो पनि होइन । यसर्थ सत्तामा रहेका गठबन्धनले जनतालाई ठगबन्धनमा नराखुन्, वाचाअनुसार जनहितमा काम गरुन्, पार्टीभन्दा माथि देश र जनतालाई अघि राखुन् । कुरा होइन, काम थालुन् ।
 

टिप्पणीहरू