कारागार बाहिर सन्दीप लामिछानेलाई हेर्नेको घुइँचो

उमेर नपुगेकी किशोरी बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने जेलमुक्त भएका छन् । उच्च अदालत पाटनको आदेशमा उनी २० लाख रुपैयाँ धरौटी बुझाएर भर्खरै रिहा भएका हुन् । 

पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेश उल्ट्याउँदै उच्चले हिजो शर्तसहित सन्दीपलाई रिहाई गर्न आदेश दिएको थियो । सोही आदेश कार्यान्वयन गराउन आज केन्द्रीय कारागारमा रहेका उनलाई बाहिर निकालेर उच्च अदालत पाटन हरिहरभवन लगिएको हो । त्यहाँ उनले २० लाख रुपैयाँ धरौटी बुझाएपछि रिहा भएका छन् । 

त्यसअघि प्रहरीको भ्यानमा राखेर सन्दीपलाई कागजी प्रक्रिया मिलाउन अदालत लैजाने क्रममा उनका समर्थकहरुले नाराबाजी गरेका थिए । केन्द्रीय कारागार, सुन्धारा पुगेका उनका सयौँ समर्थकले ‘सन्दीप भाइ हाईहाई’, ’चिन्ता नलेऊ सन्दीप भाइ जनता तिम्रो साथमा छ’ जस्ता नारा लगाएका थिए ।   

विदेशमा क्रिकेट खेलिरहेका बेला जबर्जस्ती करणीको आरोप लागेपछि बीचैमा नेपाल फर्किएका सन्दीप असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । उनलाई जिल्ला अदालत काठमाडौंले ८ कात्तिकमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

जिल्लाको आदेशविरुद्ध उनी उच्च अदालत गएका हुन् । उच्च अदालतका न्यायाधीशद्वय रमेश ढकाल र ध्रुवराज भट्टराईको संयुक्त इजलासले हिजो सर्तसहित सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

टिप्पणीहरू