हिमालय एअरलाइन्स नेपालबाट समेत बेइजिङ जाने पहिलो विदेशी कम्पनी

हिमालय एअरलाइन्स नेपालबाट समेत बेइजिङ जाने पहिलो विदेशी कम्पनी

चीनको राजधानी बेइजिङमा झण्डै तीन वर्षपछि विदेशका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले उडान थाल्ने भएका छन् । तीमध्ये हिमालय एअरलाइन्स पहिलो हुने चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ । 

राजधानीको नयाँ विमानस्थल बेइजिङ तासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एअरलाइन्सले आगामी मंगलबारदेखि काठमाडौंबाट पुनः उडान थाल्न लागेको हो । चीनले कोभिड १९ महामारीपछि सन् २०२० को मार्च १ देखि सबै अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो ।

अब चीनको चाइना साउदर्न एअरलाइन्स,चाइना इस्टर्न एअरलाइन्स, बेइजिङ क्यापिटल एअरलाइन्ससँगै हिमालय एअरलाइन्सले पनि उडान शुरु गर्न लागेका हुन् । तीमध्ये हिमालयले साताको एक पटक काठमाडौंबाट उक्त विमानस्थलमा उडान भर्ने र चाइना साउर्दनले हंगकंगमा साताको तीन उडान गर्ने बताइएको छ ।

अब ती उडानबाट बेइजिङ हुँदै हवाई यात्रुहरु युरोप, अमेरिका, एसिया र  अष्काट्रेलियाका  विभिन्न मुलुुकमा जानसक्ने छन् । त्यसको निम्ति चीनले १४४ घण्टाको भीसा फ्रि नीति पनि सार्वजनिक गरेको छ । उक्त अवधीको सो नीति बेइजिङ, थ्येन्चिन र हपेइ क्षेत्रमा लागु हुने छ ।

बेइजिङको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सन् २०१९ को अक्टोबर २७ का दिन उडानको निम्ति खुल्ला गरिएको थियो । तर कोभिड १९ महामारीका कारण पाँच महिनापछि नै बन्द गर्नुपरेको हो ।

टिप्पणीहरू