सत्तापक्षकै नेता भन्छन्- सरकारले आँखा नखोले विद्रोह हुन्छ
सत्तारुढ नेपाली काँग्रेसको इतर खेमाका नेता भूपेन्द्रजंग शाहीले युवाहरुको भावना बुझेर सरकारले काम गर्न नसके विद्रोह हुनसक्ने चेतावनी दिएका छन् ।
आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले बेरोजगारीको विकराल अवस्थाका कारण युवाहरुमा आक्रोश रहेको र त्यसलाई नजरअन्दाज गरिए भविष्यमा ठूलो विद्रोह पैदा हुनसक्ने खतरा औंल्याए । पूर्व-पश्चिम संकल्प यात्राको निचोड सार्वजनिक गर्दै उनले सरकारलाई जिम्मेवार ढंगले प्रस्तुत हुन आग्रहसमेत गरे ।
कांग्रेससमेत संलग्न सरकारले जनअपेक्षाअनुरुप काम गर्न नसकेको यात्राको निष्कर्ष सुनाउँदै शाहीले भने, ' हामी हाम्रो सरकारलाई के आग्रह गर्न चाहन्छौँ भने देशभर हामी हिँड्यौँ । युवाहरुको कुरा सुन्यौँ । बेरोजगारीको यस्तो विकराल अवस्था छ आज युवाहरुमा यति ठूलो आक्रोश छ । हाम्रो पार्टीका नेताहरु, हाम्रो सरकार यो कुरालाई नजरअन्दाज गरेर खालि सत्तामा मात्रै रमाइरहने हो भने भोलि ठूलो समस्या आउनसक्छ । भोलि युवाको आक्रोश विद्रोहमा परिणत हुनसक्छ।'
युवाहरु बिद्रोहमा उत्रिए भने नसोचेको परिणाम आउनसक्नेतर्फ सचेत गराउँदै उनले सरकारलाई आँखा खोल्न अनुरोध पनि गरेका छन् । जनताले सरकार र राजनीतिक दलसँग भ्रष्टाचार नियन्त्रणमा प्रभावकारिता देखाउन भन्ने चाहाना राखेको शाहीले बताए ।
सरकारको नेतृत्व गरिरहेको दलले सडकमा शक्ति प्रदर्शन गरेकोप्रति असन्तुष्टि जनाउँदै उनले भने, 'प्रधानमन्त्री स्वयं सडकमा चक्का जाम गरेर शक्ति प्रदर्शन गरेकोमा असन्तुष्टि जनाउँदै उनले भने भाषण गर्न थालेकाले युवाहरुले जनताको पक्षमा, युवाको पक्षमा आवाज उठाएर हिँड्ने कुरा त्यो अस्वभाविका होइन ।'
कात्तिक २३ गतेबाट मेचीनगरदेखि शुरु भएको शाही नेतृत्वको 'युवा संकल्प यात्रा' मंसिर ४ गते महेन्द्रनगरमा सम्पन्न भएको थियो ।
टिप्पणीहरू