मौन अवधिअघि कीर्तिपुरमा शक्ति प्रदर्शन
स्थानीय तह उपचुनावको मौनअवधि शुरु हुन केही घण्टा बाँकी रहँदा उम्मेदवारहरुले प्रचारप्रसार तीब्र पारेका छन् ।
उपनिर्वाचन हुने ४१ स्थानमध्ये विशेष चासोका साथ हेरिएको कीर्तिपुरमा आज प्रमुख पार्टीहरुले आज अन्तिम चुनावी सभा गर्दैछन् । सत्तारुढ नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले छुट्टा-छुट्टै स्थानमा कार्यक्रम गर्न लागेका हुन् ।
कांग्रेसले दिउँसो २ बजे लोकतान्त्रिक चोकमा आमसभा गर्दैछ । कार्यक्रमलाई केन्द्रीय महामन्त्रीद्वय विश्वप्रकाश शर्मा, गगन थापालगायतले सम्बोधन गर्ने तयारी छ । एमालेले पनि दिउँसो २ बजे नै पाँगा दोबाटो चोकमा चुनावी सभा गर्दैछ । महासचिव शंकर पोखरेललगायतका नेताले त्यहाँ भाषण गर्ने बताइएको छ ।
त्यस्तै, प्रमुख प्रतिपक्ष माओवादी केन्द्रले नगाउँ दोबाटोमा आमसभा आयोजना गरेको छ । दिउँसो ३ बजेदेखि शुरु हुने चुनावी कार्यक्रमलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ । स्वतन्त्र उम्मेदवार राजमान महर्जन (मानव)ले पनि अन्तिम चुनावी कार्यक्रम राखेका छन् । धरान उपमहानगरका मेयर हर्कराज साम्पाङ्ग राईको उपस्थितिमा अपराह्न ४ बजे बाघ भैरव मन्दिर परिसरमा कार्यक्रम आयोजना गरेको जनाइएको छ ।
मङ्सिर १६ गते कीर्तिपुर नगरपालिकाको रिक्त मेयरसहित २ वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ । आवधिक निर्वाचनको दुई वर्षपछि हुन लागेको यो चुनावलाई जनमत परीक्षणका रुपमा समेत हेरिएकाले राजधानीभित्रको नगरपालिका भएकाले दलहरुले कीर्तिपुरको चुनावलाई प्रतिष्ठाको विषय बनाएका छन् ।
मतदानको ४८ घण्टाअघि निषेधित समय रहने व्यवस्थाबमोजिम आज राति १२ बजेदेखि मौनअवधि शुरु हुँदै छ । उक्त अवधिमा उम्मेदवारहरुले प्रचारप्रसारसँग सम्बन्धित कुनै पनि गतिविधि गर्न पाउँदैनन् ।
टिप्पणीहरू