भोट माग्दै हिँडेका एमाले सांसद स्थानीयको नियन्त्रणमा
निर्वाचन आचारसंहिता उल्लंंघन गरेको भन्दै कपिलवस्तुमा सरकारी गाडीसहित प्रदेश सांसदलाई स्थानीयले नियन्त्रणमा लिएका छन् ।
लुम्बिनी प्रदेश सभा सदस्य गिरिधारीलाल न्यौपानेसहित एमाले नेताहरु चढेको बा एए १२९७ नम्बरको गाडी स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका हुन् । गाडीमा एमाले कपिलवस्तुका अध्यक्ष बाबुराम खनाल र पूर्वअध्यक्ष झविलाल पोखरेल सवार रहेको बताइएको छ ।
शुद्धोधन गाउँपालिका– १ को उपनिर्वाचनमा आफ्ना उम्मेदवारको पक्षमा मतदातालाई प्रभावमा पार्नेगरी चुनावी गतिविधि गरेको उनीहरुमाथि आरोप छ । एमाले उम्मेदवार मोहमद ताहिर मुसलमानको पक्षमा भोट माग्दै उनीहरुले पैसा बाँडेको स्थानीयले बताएका छन् ।
मतदातालाई आर्थिक प्रलोभनमा पारेको देखेपछि स्थानीयले निर्वाचन अधिकृतको कार्यालयमा खबर गरेका थिए । लगत्तै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको जनाइएको छ । प्रहरीका अनुसार यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
टिप्पणीहरू