काठमाडौंको सिडियो कार्यालयमा गिरोह सक्रिय
‘तपाईंका कर्मचारीले काममा आलटाल गर्दा,सेवाग्राहीलाई दुःख दिँदा,रुखो बोलीवचन गर्दा के हेरेर बस्नुभएको छ सिडियो साब ?’, जिल्ला प्रशासन कार्यालय, काठमाडौं आएका सेवाग्राहीले सिडियो जयनारायण आचार्यलाई सोधेको प्रश्न हो यो । प्रशासनमा नियमपूर्वक आएको काम नगर्न गिरोह नै सक्रिय हुँदा पनि सिडियो आचार्यको नजर पर्न सकेको छैन ।
सिडियो कार्यालय सरकारी कार्यालयमध्येको ‘मुख्य’ हो । त्यसैले त्यहाँ हरबखत भीड हुन्छ । नागरिकतादेखि राहदानीसम्मको सेवा जिल्ला प्रशासनबाट प्रवाह हुने भएकाले सँधै सेवाग्राहीको चाप देखिन्छ । झन् राजधानीको सिडियो कार्यालयमा त सेवाग्राहीको लाम हुन्छ । बबरमहलस्थित कार्यालयमा कहिलेकाही गेटसम्मै सेवाग्राही उभिएका हुन्छन् ।
सेवाग्राहीको सदाबहार भीड हुने उक्त कार्यालयमा सेवा प्रवाहको स्तर भने ‘थर्ड क्लास’ को छ । झन् कर्मचारीको बोली ‘सुकुम्बासी बस्ती’ मा बस्नेभन्दा कमको छैन । जसका कारण सेवाग्राहीलाई कार्यालय जानै नपरोस् जस्तो महसुस हुने गरेको छ । जनताले तिरेको करबाट तलब खाएर बसेका कर्मचारीहरु जबरजस्ती त्यहाँ ल्याएर राखिदिएको झैं व्यवहार देखाइरहेका हुन्छन् ।
तर,जिल्लाभरका सरकारी, अर्धसरकारी,निजी क्षेत्रबाट भएका ढिलासुस्ती,अनियमितता एवं गैरक्रियाकलापबारे चेकजाँच गरी आवश्यक कारबाही गर्ने अख्तियारी भएको सिडियो आचार्य आफ्नो कर्मचारीको हकमा भने हात बाँधेर बसेका छन् । कर्मचारीले सेवाग्राहीसँग गरेको रुखो व्यवहार र बोलीवचनलाई उनले नजरअन्दाज गरिरहेको आरोप छ ।
कार्यालयको नयाँ नागरिकता शाखामा सेवाग्राहीलाई दुःख दिन कर्मचारीको गिरोह नै सक्रिय छ । नागरिकता फाँटअन्तर्गतको झ्याल नम्बर १०२, १०३, १०४ र १०५ मा कार्यरत कुनै कर्मचारीमा अलिकति पनि सेवाभाव देखिँदैन । उनीहरुको व्यवहार र बोलीले सेवाग्राहीको मुटु चसक्क बनाउने गरेको छ । १०५ नम्बर झ्यालको कमाण्ड गरेका प्रशासकीय अधिकृत उपेन्द्र शाहको बोली सुनेर सेवाग्राही तर्सिने गरेका छन् ।
यता, झ्याल नम्बर १०२, १०३ र १०४ का कर्मचारीको शैली पनि उस्तै छ,‘छुद्र खालको’ । सेवाग्राही सीधै गएमा काम गर्न आलटाल गर्छन् । अनेकौं गल्ती देखाउँछन् । दलालसँग सेटिङ्गमा आएको कामबाहेक अरु सामान्य ढङ्गबाट आएको काम गर्न रुचि राख्दैनन् ।
जसका कारण घण्टौं लाइन बसेर सेवाग्राही मन अमिलो पारेर घर फर्किन बाध्य छन् ।
टिप्पणीहरू