अपांगता भएकी महिलालाई गर्भवती बनाउनेमाथि विदेशबाटै कारबाहीको माग

अपांगता भएकी महिलालाई गर्भवती बनाउनेमाथि विदेशबाटै कारबाहीको माग

रिकेश विश्वकर्मा (क्षितिज )

सिरहामा अपाङ्गता भएकी महिलालाई एक युवकले पटक– पटक बलात्कार गरेर गर्भवती बनाएको आरोप महिलाका परिवारले लगाएका छन् ।

राम्रोसँग बोल्न र हिँड्नसमेत नसक्ने ३० वर्षकी ती महिलालाई एक युवकले पटक–पटक बलात्कार गरी गर्भवती बनाएको आरोप लागेको छ । सिरहाको सुखीपुर नगरपालिका ३ कुसहा लक्ष्मीनियाँकी विपन्न परिवारकी महिलालाई पटक–पटक बलात्कार गरी गर्भवती बनाउनेले उल्टै धम्की दिएका उनका भाइले बताएका छन् ।

वैदेशिक रोजगारीको क्रममा विदेशमा रहँदै आएका पीडितका भाइले सामाजिक सञ्जालमा दुःख पोख्दै प्रहरीसँग मुद्दा दर्ता गरेर पनि पक्राउ नगरिएकोमा असन्तुष्टि जनाएका हुन् । उनले लेखेका छन्, ‘मेरो दिदी अपांग हुनुहुन्छ । तर, पनि पापीले मेरो दिदीलाई छाडेन । मेरो घर सुखीपुर नगरपालिका वडा नम्बर ३ कुसहा लक्ष्मीनियाँ हो। म विपन्न परिवारको भएको कारणले मलाई र मेरो परिवारलाई कसैले सहयोग गरेको छैन ।’

दिदी बाख्रा चराउन जाँदा गाउँकै कोसिलाल यादवको छोरा चन्दन यादवले जबर्जस्ती करणी गरेको उनले खुलाएका छन् । जबर्जस्ती करणीपछि दिदी गर्भवती भएकोमा उल्टै चन्दन यादवको परिवारले आफ्नी आमामाथि हातपात गरेको उनको आरोप छ ।

उनले प्रश्न गरेका छन्, ‘के यो हाम्रो देशमा न्याय छैन ? हामीजस्ता निमुखालाई कसैले न्यायको लागि सहयोग गर्दैन ?’ आफ्नो परिवारलाई न्याय दिलाइदिन घरको फोन नम्बर ९८२९७२३४५८ पनि उनले उपलब्ध गराएका छन् । 

इलाका प्रहरी कार्यालय लक्ष्मीपुर तपारीले पीडितको तर्फबाट पुस १ गते बलात्कार सम्बन्धी निवेदन दर्ता गराएको जानकारी दिएको छ । तर आरोपित फरार रहेको प्रहरीले बताएको छ ।

आरोपित युवककी आमा नेकपा एमालेको तर्फबाट गत स्थानीय तह निर्वाचनमा वडा सदस्यमा पराजित भएकी हुन् । आफू नेता भएको उल्लेख गर्दै उनले पीडित परिवारलाई धाकधम्की दिएको बताइन्छ । 

जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी सुभास बुढाथोकीले फरार आरोपितको खोजबिन व्यापकसँग थालिएको जानकारी दिएका छन् ।

टिप्पणीहरू