१५ सय क्षमताको सानो गौचरन स्टेडियम पुननिर्माण शुरु
काठमाडौं महानगरपालिकाले सानो गौचरन स्टेडियम पुनःनिर्माणको काम शुरु गरेको छ । उपप्रमुख सुनिता डंगोलले शिलान्यास गरेलगत्तै आजबाट काम शुरु भएको हो ।
शिलान्यास समारोहलाई सम्बोधन गर्दै उपप्रमुख डंगोलले महानगरले खेल पूर्वाधारमा लगानी बढाएको जिकिर गरिन् । उनले भनिन्, ‘सन्तुलित विकासका लागि भौतिक निर्माणसँगै आर्थिक र सामाजिक विकास सँगै लैजानुपर्छ । यस क्रममा खेलकुदलाई विकासको आयामसँगै अगाडि लैजाने कार्यक्रमअन्तर्गत स्टेडियम पुनःनिर्माण गर्न लागेका हौँ ।
विद्यालयस्तरबाट खेलाडी उत्पादनका लागि कार्यक्रम सञ्चालन भइरहेको जनाउँदै उनले यसबाट राष्ट्रिय पहिचान दिन सक्ने खेलाडी प्राप्त हुने अपेक्षा व्यक्त गरिन् । वडामा स्टेडियम पुनःनिर्माणले स्थानीय विकासलाई उचाईमा लैजाने वडा नम्बर ५ का वडाध्यक्ष वीरेन्द्र प्रजापतिले बताए ।
उनले भने, ‘टोल र चोकहरुमा मौलिक खेल पुनरुत्थान गरिरहेका छौँ । यहाँ व्यवस्थित फुटबल ग्राउण्ड निर्माण हुन्छ । भत्केको पुलमा करिब ५ रोपनी क्षेत्रफल जमिनमा बास्केटबल, टेबुलटेनिस, व्याटमिन्टन र फुटसलका लागि पूर्वाधार तयार गरिरहेका छौँ ।’
झण्डै २३ करोड लागत अनुमान गरिएको स्टेडियम बनाउन आह्वान गरिएको बोलपत्रबाट पौने १९ करोड रुपैयाँ कबोल गरेर शुभ कन्स्ट्रक्सनले ठेक्का पाएको महानगरले जनाएको छ । स्टेडियमको डिजाइन र लागत अनुमान शहरी योजना आयोगले तयार पारेको हो ।
यसलाई सार्वजनिक निर्माण विभागले कार्यान्वयनमा ल्याएको जनाइएको छ । महानगरका अनुसार स्टेडियममा ९६×६२ मिटरको खेल मैदान हुनेछ । आकाशे पानी निकास प्रणालीसहित कृत्रिम घाँस राखिने मैदान वरपर सीमा पर्खाल लगाइने छ ।
त्यस्तै, २८ वटा चार पाङ्ग्रे र १७८ वटा दुई पाङ्ग्रे सवारीसाधन अट्ने क्षमताको पार्किङ्ग रहने महानगरको भनाइ छ । यस्तै, स्टेडियमको भुईँ तलामा महिलाका लागि २३ र पुरुषका लागि १६ वटा शौचालय हुनेछन् । पहिलो तलामा ७ महिला र ५ वटा पुरुष शौचालय बनाइने छ । त्यसैगरी एउटा फिजियोथेरापी कक्ष, महिला र पुरुषका लागि तीन-तीन वटा कपडा फेर्ने कोठा, एउटा प्राथमिक उपचार कक्ष र दुईटा टिम लकर हुनेछ ।
महानगरले निर्माण कार्यको सार्वजनिक खरिदका लागि गत वैशाख ३ गते सार्वजनिक सूचना जारी गरेकोमा तोकिएको समयावधिभित्र १६ निर्माण कम्पनीले प्रस्ताव पेश गरेका थिए । छनोट भएको निर्माण पक्षलाई गत कार्तिक २५ गते कार्यादेश दिइएको थियो ।
स्टेडियम पुनःनिर्माणको काम २०८२ चैत मसान्तभित्र सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ । महानगरका अनुसार रङ्गशाला १८ रोपनी १ आना २ पैसा ३ दान (९२११.५ वर्गमिटर) क्षेत्रफलमा निर्माण हुनेछ । दर्शक क्षमता १ हजार ५ सय जनाको हुनेछ ।
टिप्पणीहरू