बागलुङमा खुल्यो कालिज फार्म

बागलुङमा खुल्यो कालिज फार्म

बागलुङमा व्यावसायिक कालिज फार्म सञ्चालनमा आएको छ । फार्म म्याग्दे गाउँपालिका–७, वरभञ्याङ खर्कका इन्द्रप्रसाद तिवारीले सञ्चालन गरेका हुन् । झण्डै २२ रोपनी क्षेत्रफलमा गण्डकी कृषि फार्म दर्ता गरी दुई हजार पाँच सय कालिज पालिएको बताइएको छ ।

डेढ वर्ष अघिदेखि गाउँमा नै कृषि र उत्पादनमा केही गर्ने उद्देश्यले तीन करोड रुपैयाँ लगानीमा कालिज पाल्न सुरु गरेको तिवारी बताउँछन् । उनले केही समयपछि तरकारी खेतीलाई पनि सँगसँगै अघि बढाउने योजना बनाएका छन् ।

कालिजको फुललाई ह्याचरीबाट फार्ममै कालिजको चल्ला उत्पादन गर्ने गरिएको छ । कालिजले कम्तीमा छ महिनापछि फुल पार्ने गरेको छ । ‘उत्पादन भएको फुल जिल्लामा खपत हुने गरेको छ,’ उनले भने, ‘कालिजलाई दाना र स्थानीय घाँस खुवाउने गरिएको छ । सोही कारण कालिज अर्गानिक र स्वादिलो भएको पारखीहरु बताउँछन्,’ उनले बताए । 

उत्पादित कालिजमध्ये भाले प्रतिगोटा २ हजार ५ सय र पोथी १ हजार ८ सयमा बिक्री गरिएको तिवारीको भनाइ छ । त्यसैगरी फुल पनि प्रतिक्रेट ९ सयमा बिक्री गर्ने गरिएको उल्लेख गर्दै उनले भने, ‘फार्ममा दैनिक १ हजार ५ सयसम्म फुल उत्पादन हुँदै आएको छ ।’

बागलुङमा अहिलेसम्म फुल र कालिज खरिदका लागि ग्राहक फार्ममा नै आउने गरेकाले अहिलेसम्म बजारको अभाव नरहेको उनको अनुभव छ । ठूलो लक्ष्यका साथ काम थालिएको अझ बढी लगानी गर्ने योजना तिवारीले राखेका छन् ।

तर राज्यले आवश्यक सुविधा दिन नसकेकोमा उनले खिन्नता व्यक्त गरेका छन् । कृषक तिवारी गुनासो पोख्दै भन्छन्, ‘खोइ हामी किसानको पीडा कसले बुझ्छ र । न हामीसँग पहुँच छ, न पावर नै ।’

व्यावसायिकरूपमा कृषि र व्यावसायिक फार्मका लागि सरकारले उचित अनुदान र व्यवस्थापनको व्यवस्था गर्नुपर्नेमा उनको पनि जोड छ । कृषकलाई उत्पादनमा जोड्न र समस्या समाधानका लागि पालिकाले जोड दिँदै आएको गाउँपालिका अध्यक्ष श्रीप्रसादको भनाइ छ ।

टिप्पणीहरू