माघ २ गते राजधानीमा भूकम्प दिवस मनाइने

माघ २ गते राजधानीमा भूकम्प दिवस मनाइने

आगामी माघ २ गते काठमाडौँको कमलपोखरीमा २५ औँ भूकम्प सुरक्षा दिवस मनाइने भएको छ । गत बुधबार काठमाडौँ महानगरपालिकामा भएको छलफलका क्रममा व्यवस्थापन उपसमितिको बैठकले उक्त निर्णय गरेको बताइएको छ । 

विक्रम सम्बत् १९९० माघ २ गते अपरान्ह २ बजेर २४ मीनेटमा भएको महाभूकम्पको सम्झनामा माघ २ गते सोमबार देशभर विभिन्न कार्यक्रम आयोजना गरी २५ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउन लागिएको हो ।

‘भूकम्पबाट सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ नाराका साथ देशव्यापी रुपमा विविध कार्यक्रम सञ्चालन गरी दिवस मनाउन लागिएको जानकारी दिइएको छ । सो अवसरमा मूल समारोह समितिले दिउँसो २ बजे काठमाडौँको कमलपोखरीमा विशेष कार्यक्रम आयोजना गर्ने जनाएको छ । 

कार्यक्रमअघि कोभिड–१९ महामारीसम्बन्धी नेपाल सरकारले जारी गरेको स्वास्थ्य सतर्कता र मापदण्ड परिपालना गरी भूकम्पीय सचेतनाका प्रचारप्रसारका कार्यक्रम सञ्चालन गरिने बताइएको छ । सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक सुरेन्द्र श्रेष्ठले भूकम्पबाट हुने आर्थिक, सामाजिक, भौतिक प्रभाव र जोखिमलाई न्यूनीकरण गर्न सचेत भई एकीकृत, संस्थागत एवम् व्यवस्थित रुपमा कार्य सम्पादन गर्न सकेमा भूकम्पीय जोखिम न्यून गर्न सकिने जानकारी दिएका छन् । 

उनले सरकारी अठोट र प्रयासलगायत नागरिक समाज, निजी क्षेत्र, समुदाय तथा गैर सरकारी संस्थालगायत सबैको सहकार्यले मात्र उक्त लक्ष्य प्राप्त हुन सक्ने उल्लेख गर्दै जनसमुदाय तथा सरोकारवालाबाट थप साझा योगदान एवम् निरन्तर सहभागिताको निम्ति हार्दिक अपिलसमेत गरेका छन् । भूकम्प दिवसको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, पूर्वसहरी विकासमन्त्री मेटमणि चौधरीलगायतको उपस्थिति रहने महानिर्देशक श्रेष्ठले बताए ।

कार्यक्रममा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका प्रतिनिधिले भूकम्पको समयमा गर्नुपर्ने सुरक्षित व्यवहारको बारेमा संक्षिप्त जानकारीसहितको प्रदर्शन गर्ने बताइएको छ । त्यस्तो बेलामा ‘घुँडा टेकी गुँडुल्की ओत लागी समात’ को राष्ट्रिय अभ्यास, भूकम्पीय जोखिम न्यूनीकरण तथा पूर्वतयारीमा सामूहिक प्रतिबद्धता जनाइने छ । अतिथिहरुको मन्तव्यपछि प्रधानमन्त्री प्रचण्डले ‘भूकम्प सुरक्षा प्रदर्शनी’ को उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम राखिएको छ । २५ औँ भूकम्प सुरक्षा दिवस मूल समारोहका सभापति, भूकम्प सुरक्षा दिवस व्यवस्थापन उपसमितिका संयोजक एवम् काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साहले कार्यक्रम विसर्जन गर्ने तालिका तय गरिएको छ ।

 

टिप्पणीहरू