प्रचण्ड र ओलीबीच काँग्रेसलाई केही पनि नदिने भद्र "सहमति"

प्रचण्ड र ओलीबीच काँग्रेसलाई केही  पनि नदिने भद्र "सहमति"

आगामी राष्ट्रपति र सभामुखमध्ये एक पद आफूले पाउनुपर्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको नेपाली काँग्रेसको भागमा अन्ततः हात लाग्यो शून्यको स्थिति उत्पन्न हुने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री दाहालबीच राष्ट्रपति,उपराष्ट्रपति,सभामुख र उपसभामुखसहित मन्त्रालय भागबण्डाको टुंगो लागेको उच्च स्रोतले पुष्टि गरेको छ ।

पटकपटक बालकोट र बालुवाटार भेटको रहश्य अब बल्ल खुल्दैछ । जसपाले उपरास्ट्रपति माग्दा यस बिषयमा कुरै नगरौं,हाम्रो पहिले नै सहमति भैसकेको छ भनिएपछि उपेन्द्र यादव झन बिच्किएको बताइन्छ ।

जसअनुसार एमालेले राष्ट्रपति पूरै कार्यकाल र माओवादीले उपराष्ट्रपति पूरै कार्यकाल पाउने गरी बालकोटको दिवाभोजनमा हिजो एकसरो टुंगो लागेको छ । त्यसैगरी ती पार्टीबीच प्रधानमन्त्री र सभामुखमा आलोपालो हुने पहिलेको सहमति कार्यान्वयन हुने भएको छ । उपसभामुख रवि लामिछाने नेतृत्वको रास्वपाको भागमा परेको छ । सोहीबमोजिम मन्त्रालयको भागबण्डा पनि गरिएको बताइएको छ ।

जसमा एमालेले अर्थ,परराष्ट्र,रक्षा, भूमिसुधार,कृषि,स्वास्थ्य र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय पाउने छ । माओवादीले भौतिक पूर्वाधार,सञ्चार,पर्यटन र संघीय मामिला तथा सामान्य प्रशासन एवम् रास्वपाले गृह,शिक्षा र श्रम पाउने निश्चित भएको छ । स्वास्थ्यमन्त्रीको रुपमा प्रचारित डा.तोसिमा कार्कीको सम्भावना पनि योसँगै टरेको छ ।

राप्रपाले ऊर्जा,खानेपानी र युवा तथा खेलकुद मन्त्रालय तथा जनमतले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको भाग पाएको छ । जसपालाई शहरी विकाससहित दुई मन्त्रालय छुट्याइएको छ । तर, उसले उपराष्ट्रपति नपाएसम्म सरकारमा सहभागी नहुने अडान राखेको छ ।

टिप्पणीहरू