लमजुङको पहिरोमा तल गृह सहसचिव,माथि ढेडु बाँदर

लमजुङको पहिरोमा तल गृह सहसचिव,माथि ढेडु बाँदर

-अञ्जनकुमार हिमाली

लमजुङको राइनास नगरपालिका सातबिसेमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोर्खामा आफूले,तनहुँमा रामचन्द्र पौडेलले र लमजुङमा देव गुरुङ्गले जिते सो क्षेत्रको कायापलट हुने उदघोष गर्नुभएको थियो । लमजुङमा देव गुरुङ बाहेक तनहुँ र गोर्खाबाट  प्रचण्ड र रामचन्द्र विजयी हुनुभयो । 

लमजुङमा चुनावी प्रतिस्पर्धा गर्दा गुरुङको भूमिका संघीय सांसदको थियो । गुरुङले झैँ प्रचण्डले समेत स्थानीय सडकको हालतबारे आफूलाई अवगत भएको र यथासक्य छिटो  डुम्रे, बेंसीसहर हुँदै मनाङसम्म सडक स्तरवृद्धि गरेर जिल्लाको विकासलाई अघि बढाउने प्रतिबद्धता जनाउनुभएको हो । तर चुनाव सकिएसङ्गै चुनावीका वाचा पनि सकिएको छ ।

 दुई वर्ष पहिले गएको पहिरोबाट अबरुद्ध सडक तत्कालीन जिल्ला प्रशासन प्रमुख होमप्रसाद लुइँटेल र प्रहरी प्रमुख कृष्णबहादुर कार्कीकै बलमा भित्तो खोपेर वैकल्पिक रुपमा खोलिएको हो । पुनः गत बर्खामा उदिपुरमा पहिरोले सडक अवरुद्ध पारेपछि रोकथामका लागि २१ करोड रुपैयाँ विनियोजन भएको बताइयो । तर बर्खा नजिकिँदै गर्दा सडकको हालत झन नाजुक बनेको छ । डुम्रे–बेसी शहर खण्डको यो सडक दैनिक आधादेखि दुई घण्टासम्म अवरुद्ध हुने गरेको छ । 

 दिनहुँ जाने सुख्खा पहिरो र ढेडु बाँदरले समेत ढुङ्गा खसालेर हैरानी दिने गरेको स्थानीय बताउँछन् । अस्ति सोमबार विपद व्यवस्थापनसम्बन्धी नीतिगत व्यवस्थाको निम्ति अन्तरक्रिया गर्न लमजुङ पुगेका गृह मन्त्रालयका सहसचिव प्रदिप कोइरालासहितको टोली सोही पहिरोमा डेढ घण्टा रोकियो । उक्त पीडा जिल्ला समन्वयको हलमा भएको सुरक्षा प्रमुख,प्रमुख जिल्ला अधिकारी सुशील बैध्य, स्थानीय सरकारका प्रमुखहरु समेतलाई गम्भीर हुन भन्दै सुनाइएको थियो । 

राज्यको ठूलो ओहोदामा आसिन व्यक्ति लमजुङको पर्यटकीयस्थल घुम्न आउँदा बाटोको हविगत देखेपछि सम्बन्धित निकायमा कुरा राख्ने भन्दै काठमाडौं जाने गरेका छन् । तर, राजधानी पुग्दा नपुग्दै सबै बिर्सने गरेको सडकको दूरावस्थाले पनि पुष्टि गरेको छ । बेलैमा मर्मत गरिएको भए थोरै रकमले बन्ने सडक सम्बन्धित निकायले चासो नदेखाउँदा स्थानीयले नेताहरुलाई सरापेकै छन् । उच्च जोखिममा रहेको उक्त सडकमा कतिबेला कसको ज्यान जाने हो कसैलाई थाहा छैन ।

टिप्पणीहरू