ठेक्का ओगट्ने र अलपत्र बनाउने एक दर्जन ठेकेदार कालोसूचीमा

ठेक्का ओगट्ने र अलपत्र बनाउने एक दर्जन ठेकेदार कालोसूचीमा

ठेक्का लिएर काम अलपत्र पार्ने एक दर्जन ठेकेदार कम्पनी कालोसूचीमा परेका छन् । सरोकारवाला निकायले पटक–पटक निर्देशन दिँदासमेत तोकिएको समयमा काम सम्पन्न नगरेकाले ती निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई सरकारले कालोसूचीमा राखेको बताइएको छ । 

कालोसूचीमा परेका कम्पनीमा गोपाल ढकाल नेतृत्वको युनिभर्सल मल्टी सर्भिस प्रालि, कुमार भण्डारीको स्वामित्व रहेको स्वर्गद्वारी महाप्रभु विल्डर्स प्रालि, कृष्णबहादुर खड्काको सुक्रिक निर्माण सेवा, निरजकुमार मिश्र नेतृत्वको एसडी कन्स्ट्रक्सन, जगतबहादुर जोराको राष्ट्र सेवा निर्माण सेवा हुन् । 

त्यस्तै, जनार्दन धितालको स्वामित्वमा रहेको मुक्तिनाथ बिल्डर्स एण्ड कम्पनी प्रालि, रामबहादुर राना नेतृत्वको लक्ष्मी निर्माण सेवा, प्रकाश कोइराला नेतृत्वको जलेश्वर निर्माण सेवा, माधव घिमिरेको डिभी घिमिरे कन्स्ट्रक्सन, पुष्करप्रसाद गौतम सञ्चालक रहेको अञ्जना निर्माण सेवा, रानीकुमारी रौनियार नेतृत्वको दिल्ली ट्रेडिङ र शिवहरी पुडासैनीको बी मेनेजमेन्ट प्रालिलाई पनि कालोसूचीमा राखिएको छ । 

सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती निर्माणकर्ताहरुलाई कालोसूचीमा राखेको हो । उनीहरुको कसूरअनुसार कार्यालयले १ देखि ३ वर्षका लागि कालोसूचीमा राखेको हो । 

कालोसूचीमा परेका ठेकेदार कम्पनीले त्यस अवधिभित्र कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा भाग लिन नपाउने कानुनी व्यवस्था छ ।
 

टिप्पणीहरू