गृहमन्त्री चाहियो भन्दै बालुवाटार पुगेका रवि रित्तै फर्किए

गृहमन्त्री चाहियो भन्दै बालुवाटार पुगेका रवि रित्तै फर्किए

नागरिकता लिएको केही घण्टामै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा पुनर्स्थापित भएका रवि लामिछाने गृहमन्त्री माग्न आज पनि प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । सर्वोच्च अदालतले नागरिकतामा कैफियत ठहर गरेपछि उपप्रधानसहित गृहमन्त्री गुमाएका उनी सोहि पदका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दबाब दिन बिहानै बालुवाटार गएका हुन् । 

अस्ति दिउँसो जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नयाँ नागरिकता बनाएलगत्तै अपराह्न पार्टीको बैठक राखेर गृह नछोड्ने निर्णय लेखाएका लामिछानेले साँझ प्रधानमन्त्री प्रचण्डलाई भेटेर आफूलाई गृहमन्त्री बनाउन आग्रह गरेका थिए । त्यही विषयमा कुरा गर्न बालुवाटार पुगेका उनी "साथीहरुसङ्गसल्लाह गरेर खबर गरौंला" भन्ने जवाफसहित रित्तै फर्किएका  छन् । 

बिहान १० बजेर २२ मीनेटमा बालुवाटार छिरेका लामिछाने एक छिनअगाडि निस्किएका हुन् । बालुवाटार स्रोतका अनुसार त्यहाँ प्रधानमन्त्रीसँग उनको चर्काचर्कीसमेत परेको थियो । पासपोर्ट विवाद कायमै रहेको अवस्थामा लामिछानेलाई गृहमन्त्री बनाउँदा आफूसमेत नैतिक समस्यामा पर्ने भएपछि प्रधानमन्त्री प्रचण्ड भने त्यसमा सकारात्मक नभएको बताइन्छ।

टिप्पणीहरू