संगी तैँ भइस् संगीत

संगी तैँ भइस् संगीत

साँच्चै यो सृष्टि कति सुन्दर छ ! यी हावा, पानी, चन्द्र, सूर्य, खोलानाला, पहाड, आकाश, ढुंगा, माटो, वनस्पति, किराफट्याङ्ग्रा, पशुपक्षी, मानिसलगायत अस्तित्वमा रहेका सम्पूर्ण चराचर भौतिक, अभौतिक पक्षहरूको मिलन वास्तवमै जादुमय छ । यो समष्टिगत संयोजनले नै संसार चलेको छ । बडो अचम्मको तालमेल छ । शब्द, आवाज, भाषा, ध्वनि, तरंग, रूप, रंग, ढंग सबै–सबै अद्भूत छन् । एकअर्काविना यहाँ कोही कसैको अस्तित्व सम्भव छैन । अरु त अरु एउटा मान्छेलाई अर्काे मान्छेको सहाराबिना पनि रहन मुश्किल छ । यहाँ उपयोगिताको माध्यम नै योग हो । जसरी महिला–पुरुषको संयोग नभई एउटा अर्काे नयाँ जीवनसमेत बन्न सक्दैन । समायोजनको सुरताल जति लयमा हुन्छ, जीवन र जगत उति नै सरल र सरस बन्न पुग्छ । जसरी शब्द, धुन र आवाजको ठीक–ठीक संयोजनले गीत–संगीत सुमधुर अनि शक्तिशाली बन्छ ।

प्रकृतिका धुनबाटै संगीत सिर्जना भएको छ । हिन्दूदेवी सरस्वतीलाई अक्षर र आवाजको जननी मानिन्छ । भनिन्छ, श्रेष्ठ शब्द र संगीतहरूमा हमेशा सरस्वती माताको बास हुन्छ । बूढालाई पनि किशोर बनाउने संगीतको तरंगले जोश, जाँगर र उमंगको सञ्चार गर्छ । कल्पना जगाउँछ, आत्मबल बढाउँछ । निमेषभरमै थकान र तनावबाट आराम दिलाएर तन्दुरुस्ती प्रदान गर्ने चामत्कारिक गुण छ संगीतमा । एक्लोपन भगाइदिन्छ । कहिलेकाहीँ तिखो याद बनेर हाम्रा भावनाहरूलाई यसरी चिमोट्छन् कि रगरगमा समाउँदै मान्छेलाई पुराना दिनको स्मरणमा जागृत र स्खलितसम्म बनाउँछन् गीतसंगीतले । खास संगी त संगीतै रहेछ । साथी भएकैले संगीत भनिएको होला । हरेक मान्छेको मनभित्र मन मित्र बनेर गुञ्जिने संगीतको साथ एक्लोमा मात्र होइन भीडलाई पनि चाहिने रहेछ । कुनै विवाह, उत्सव वा पार्टीमा रमाइलोका लागि गीत–संगीत नै बजाएर नाचिन्छ, झुमिन्छ । कतिपय सार्वजनिक कार्यक्रमहरूको प्रारम्भमा गीतसंगीत नै घन्काएर माहोल तताउने गरिन्छ । धेरैजसो चालक गीत बजाएरै गाडीको रफ्तार हाँक्छन् । प्रायः यात्रु पनि गीत सुन्न रुचाउँछन् ।

संगीत सुनेर यात्रा गर्दा बाटो कटेको पत्तै हुँदैन । रोइरहेको बच्चालाई सुताउन आमाहरूले संगीतकै सहारा लिने (लोरी गाउने) गरेको पाइन्छ । पहिले पहिले वनपाखा, खेतबारीमा जाँदा पनि रेडियो लगेर समाचार र गीतसंगीत सुन्थे मानिसहरू । अचेल हात हातको मोबाइलमै रोजीरोजी समाचार अनि गीतसंगीत हेर्न, सुन्न सकिने भएको छ । अहिले पनि दशैं आउँदा होस् या तिहार वा तीज– पहिल्यै त्यसको आभाष बनेर गीतसंगीत हाम्रो छेउ आइपुग्छ । पहिले दुःख पाएका चेलीहरूको बेदना बोल्थ्यो तीज गीतले । अचेल उट्पट्याङ गीत पनि बन्न थालेका छन् । जेहोस्, मौसमअनुसार व्यापारको मेलो पनि रहेछ गीत–संगीत ।

एकै वा उस्तै संगीत सबैलाई मन नपर्ला ! कोही पप सुन्छन्, कोही आधुनिक रुचाउँछन्, कोही लोकदोहोरी त कोही फिल्मी गाना मन पराउँछन् । राष्ट्रिय गान, ईश्वरको भजन, क्रान्ति र चेतनाका गीत पनि छन् । तर माया पिरतीको गीत नै धेरैलाई मन पर्छ । किनकि हामी सबैको अन्तरआत्माको चाहना हो माया । हरमानिस प्रेममा रमाउन चाहन्छ । यथार्थमा तीतो, टर्राे, खल्लो भोग्नुपर्दा पनि मधुर प्रेमको इच्छा, कल्पना र लालसाले हरदम सताइरहेको हुन्छ । त्यो बेला मीठा–मीठा प्रेमगीत हामीलाई मायाको आभाष बनिदिन्छन् र केही क्षण भएपनि आनन्दित तुल्याउँछन्, अलौकिक दुनियाँमा पु¥याउँछन् । मिलन होस् या वियोगका गीत– हाम्रो मन भुलाउने सहारा बनेका छन् । संगीतमा यति ठूलो तागत लुकेको छ कि पलभरमै कसैको सम्झना बनेर छाउन सक्छ यो । छिनमै हँसाउन अनि रुवाउन सक्छ । कस्तो जादुमय तरङ्ग ! मनभित्रै छोइदिन्छ । नबोली नबोली मनको कुरा भनिदिन्छ । कोही नजिकको मान्छेलाई आफ्नो कुरा भन्न नसक्दा त्यस्तै गीत–संगीतको सहारा लिएर मनका भावना पोख्न सजिलो छ । कसैलाई आफ्नो प्रेम, प्रस्ताव, बिन्ती, माफी, आक्रोश, खबरदारी, शुभकामना आदि बताउन गीतसंगीत गज्जबको सहारा हुँदो रहेछ । मनको आवाज बोलिदिन्छ यसले । रिसाएकोलाई फकाइदिने साथी कहिलेकाहीँ सारा नातासम्बन्ध, कामधाम भन्दा पनि माथि भइदिन्छ ।

साँच्चै संगीतमा रमाउने, हराउने मानिस थुप्रै छन् । संगीतको सुरमा चल्नुको मज्जा नै बेग्लै ! संगीतको तालमा कडा–कडा काम पनि छिट्टै–सजिलै गर्न सकिने रहेछ । गाईभैंसीलाई त संगीत सुनाएर दुहुँदा बढी दूध दिन्छन् भनिन्छ । हालै युक्रेनमाथि युद्ध गरिरहेका आफ्ना सैनिकलाई सु¥याउन रुस सरकारले मोर्चामा सांगीतिक टोली पनि सामेल गरेको खबर सुनियो । मानौं एक किसिमको सुरा नै हो संगीत वा भनौं मादकताको जाम । मताउँछ, नचाउँछ, मदहोस अनि मग्न बनाउँछ । विचित्रको संगीतले चलचित्रझैं मान्छेहरूलाई तालतालमा नचाइरहेकै त छ ।

देवाधिदेव शिव त बेलाबेलामा ताण्डव गर्छन् । ‘ऊँ नम शिवायः’ र ‘सत्यं शिवम् सुन्दरम्’को पनि त आफ्नै लय छ । भगवानको भजनमार्फत् ईश्वरसँग मिलाउने सेतु झैं तन्त्र, मन्त्र, भक्ति अनि प्रार्थनाहरूमा संगीतकै सरगम छ । योग र ध्यानका लागिसमेत अलौकिक शक्ति छ यसमा । वास्तवमै ईश्वरीय वरदान नै हो गीतसंगीत । कुनै कुराप्रति आशा, आस्था र आत्मविश्वास जगाउँछ यसले । एकैछिनमा रगत उमालिदिन्छ । परिवर्तनको लहर ल्याउन सक्छ । मान्छेलाई सम्मोहित गर्न सक्नेसम्मको उर्जा निहित छ यसमा । त्यसैले गीत–संगीत जहिले पनि सशक्त हुनुपर्छ । त्यसका लागि गहिरो साधना चाहिन्छ । संगीतको कुनै भाषा र भूगोल हुँदैन । कुनैपनि सीमानाले छेक्न सक्दैन यसलाई । संसारको एउटा कुनामा भएको सिर्जनाले सारा विश्वलाई तरंगित पार्न सक्छ । ध्वनिको तरङ्ग र गुञ्जन त सबैका लागि उस्तै हो । हरफहरू कुनै एक भाषामा लेखिएपनि अर्थ बुझ्ने सबैलाई त्यसले उत्तिकै छुन्छ । हरेक धुनको पनि आफ्नै संकेत त हुन्छ नै ! दुःखको धुन, खुशीको धुन, मिलनको धुन, वियोगको धुन, रागको धुन, वैरागको धुन बेग्लाबेग्लै हुन्छ । जस्तो कि पीडामा ऐया गर्दा र खुशीमा आहा गर्दाको उच्चारण अलग–अलग रूपमा प्रष्फुटन हुन्छन् ।

जेहोस्, हरेक जीवात्मामा संगीतको बास छ । निर्जीव वस्तुहरूले समेत संगीत निकाल्छन् । खोलाको कलकल, झरनाको झरझर, आकाशको गडगड, पवनको सुसेली अर्थात् हावाको सरसर, पातपतिङ्गरहरूको फरफर, कीराफट्यांग्राहरूको झ्याउँझ्याउँ, चराचुरुङ्गीको चिरबिर वा प्राणीहरूको आवाजमा पनि संगीतको केही अंश छ । हाम्रो स्वाँ..स्वाँ...सिँ..सिँ.., फ्वाँ...फ्वाँ...फु...फु..., आ..., उ...हा...हु, घ्यारघ्यारघुरघुर, ङ्यारङ्यारङुरङुर सबैसबैमा संगीत समाएको छ । मन परेको मान्छेको मुखबाट निस्किने एक शब्द आवाज पनि हामीलाई अति सुरिलो र प्रिय लाग्छन् । वर्षाको टिपटिप, पाउजूको छमछम, चुराको छनछन, घण्टीको टिनटिन, ढुंगा–चट्टान अनि लोहाहरूका ठक्कर–घर्षण सबै सबैमा संगीतको झंकार छ । मानौं, हरेक पदार्थ, आत्मा र स्पर्शहरूमा यहाँ संगीत भेट्न सकिन्छ ।

चिसिएको मन तताउँछ यसले, जलिरहेको आत्मामा शीतलता छर्छ । खुशी अनि सुखानुभूति ल्याउँछ, विरहको भाका पनि गाउँछ, धोका, ग्लानि, पछुतो सबै सबै महसुस गराउँछ । विविध ज्ञान दिन्छ । जीवन र जगतको सत्य बोध गराउँछ । किनकि खास भुक्तभोगीहरूबाटै रचिएका हुन्छन् विशेष गीतसंगीत । जीवनमा अनेक ठक्कर, हण्डर र बज्रपातले विभिन्न धुनमा बजेका, बजाइएकाहरूले प्रकृतिका धुन पनि सुनेका र त्यसलाई महसुस गरेका हुन्छन् । मिलेका तानहरूले संगीतलाई आकर्षक र मजबुत बनाएजस्तै हामीले पनि यस संसारका हरेक वस्तु वा साइनोसित ठीक–ठीक र गहिरो तालमेल मिलाउन सक्यौं भने हाम्रो जीवन पनि सुमधुर, शानदार, दमदार अनि अलौकिक बन्नेमा शंका छैन ।

टिप्पणीहरू